चितवन – महिला सशक्तीकरण, आपसी सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले स्पाउज क्लब अफ आरसी चितवनले श्रावण मेहन्दी कार्यक्रम आयोजना गरेको छ।
क्लब अध्यक्ष जानकी तिवारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबकी सचिव बबिता घिमिरेले गरेकी थिइन्।
कार्यक्रममा सचिव घिमिरेले पौराणिक कालदेखि चलिआएको हिन्दू संस्कृति र परम्पराअनुसार श्रावण महिनाको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले नेपाली महिलाबीच एकता, सहकार्य र आत्मीयता अभिवृद्धि गर्न सहयोग पुग्ने बताइन्।
अध्यक्ष जानकी तिवारी शर्माले रोटरीको महिला सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरिन्। उनले आपसी सद्भाव, सहकार्य र सामाजिक सेवाको भावना विकास गर्न क्लब निरन्तर सक्रिय रहने पनि बताइन्।
क्लबले आगामी दिनमा महिला तथा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर, रोजगारमूलक तालिम, शैक्षिक सामग्री वितरण, वृद्धाश्रममा तीजको दर कार्यक्रम, बालबालिकाका लागि पोषणसम्बन्धी कार्यक्रम तथा युवतीहरूका लागि महिनावारी स्वास्थ्य सचेतना (Menstrual Hygiene Awareness Campaign) लगायतका कार्यक्रमहरू रोटरी क्लब चितवनसँगको सहकार्यमा सञ्चालन गर्ने वार्षिक योजना रहेको जानकारी पनि दिइयो।
कार्यक्रमको अन्त्यमा सहभागी महिला दिदीबहिनीहरूले मेहन्दी लगाउँदै श्रावण पर्वको उल्लास मनाएका थिए। साथै समाजसेवामा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, बोर्डका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो


