विद्यार्थीको आवाजले सरकारलाई निर्णय सच्याउन बाध्य बनायो : सुशिल कार्की ‘अब्दुल’

एटुजेड समाचार

चितवन –  अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्ष सुशिल कार्की ‘अब्दुल’ ले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क हालका लागि लागू नगर्ने सरकारको निर्णय विद्यार्थी आन्दोलन र जनदबाबको परिणाम भएको बताएका छन्।

उनले सरकारले विद्यार्थी, अभिभावक तथा आमनागरिकबाट उठेको आवाजलाई सम्मान गर्दै निर्णय सच्याएको भन्दै यसलाई सकारात्मक कदमका रूपमा स्वागत गरे। उनका अनुसार शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा अतिरिक्त आर्थिक भार थप्ने कुनै पनि नीति जनहितअनुकूल हुन सक्दैन।

अध्यक्ष कार्कीले भने, “विद्यार्थीको आवाजले सरकारलाई निर्णय सच्याउन बाध्य बनाएको छ। हाम्रो मागले सार्थकता पाएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क हालका लागि लागू नगर्ने सरकारको निर्णयले जनताको आवाजको सम्मान गरेको छ। सरकारलाई जनताको पक्षमा निर्णय गर्न बाध्य बनाउने शक्ति संगठित विद्यार्थी आन्दोलन र नागरिकको एकतासँग हुन्छ।”

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकमाथि अनावश्यक आर्थिक भार थप्ने नीति पुनः ल्याउने प्रयास भए त्यसविरुद्ध सशक्त रूपमा उभिने चेतावनीसमेत दिए। साथै, दुर्गम, विपन्न, दलित तथा सिमान्तकृत समुदायका नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।

अन्त्यमा अध्यक्ष कार्कीले “संघर्ष जारी छ, खबरदारी जारी छ, जनताको विजय जारी रहनेछ।” भन्दै जनअधिकार, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको पक्षमा विद्यार्थी आन्दोलन निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु