चितवन – स्कुटरलाई ठक्कर दिएर फरार रहेका एक मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत असार ३० गते अन्दाजी १०: २५ बजेको समयमा चितवनको भरतपुर ७ तेह्रसाल चोक नजिकै ना ३३ प २६०८ नम्बरको बुलेट मोटरसाइकलले एक स्कुटरलाई ठक्कर दिएको थियो।
उक्त बुलेटले ठक्कर दिँदा स्कुटर चालक भरतपुर ७ बस्ने ७० वर्षीय रामशरण खनाल घाइते भएका थिए। बुलेट मोटरसाइकलले बा.२० प. ७१६९ नं. को स्कुटरलाई ठक्कर दिँदा खनाल घाइते भएका हुन् ।
घटना भएको दुई दिनपछि ठक्कर दिएर फरार बुलेट चालक भरतपुर १७ बस्ने २१ वर्षीय अभिषेक गुरुङलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्रभूषण यादव ले जानकारी दिए।
उनका अनुसार मोटरसाइकल चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको छ ।
सामाजिक सञ्जालमा दुर्घटनाको सिसिटिभि फुटेज सार्वजनिक भएपछि फरार चालकलाई तत्काल नियन्त्रणमा लिनुपर्ने आवाज उठिरहेका थिए ।


