काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले देशमा पछिल्लो समय बढ्दै गएको आत्मदाह, डिप्रेसन, र मानसिक स्वास्थ्य समस्याहरूको समाधानका लागि तत्काल एक अधिकारसम्पन्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खनालले मानसिक स्वास्थ्यको मुद्दालाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए ।सांसद खनालले विज्ञान र प्रविधिको विकासले भौतिक सहजता ल्याए पनि मानसिक स्वास्थ्यका दृष्टिकोणले समाज झन् संवेदनशील बन्दै गएको बताए ।
‘डिप्रेसन, चिन्ता र आत्मदाहका घटनाले समाजलाई आक्रान्त बनाएको छ,’ उनले भने, ‘तर हाम्रो मानसिक स्वास्थ्य सेवा अत्यन्तै सीमित, असमान र राजधानी केन्द्रित मात्रै छ। यसले गर्दा राज्यले चाहेर पनि नागरिकलाई प्रभावकारी सेवा दिन सकिरहेको छैन।’
मानसिक स्वास्थ्य केवल ओखती र उपचारसँग मात्र नजोडिई यो जैविक, मनोवैज्ञानिक र सामाजिक पक्षको सन्तुलनसँग सम्बन्धित भएकाले यसलाई विस्तृत रूपमा बुझ्न आवश्यक रहेको उनको तर्क थियो।सांसद खनालले वर्तमान चुनौतीलाई सम्बोधन गर्न पुरानो नीतिमा परिमार्जन गरी नयाँ मानसिक स्वास्थ्य नीति तर्जुमा गर्न माग गरे ।


