प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णय अनुसार श्रेष्ठ प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन्।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरे। उनले बदलिँदो सञ्चारमाध्यमको स्वरूप अनुसार पुराना कानुन परिमार्जन गर्दै पत्रकारिता क्षेत्रमा ‘स्वनियमन’ को प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
नियक्तिपत्र ग्रहण गरेपछि अध्यक्ष श्रेष्ठले मिडियाको स्वरूप फेरिए पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भएकाले यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए।
‘पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्ने मेरो प्राथमिकता रहनेछ,’ उनले भने, ‘प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा काउन्सिल सक्रिय रहनेछ।’
नवनियुक्त नेतृत्वलाई बधाई दिँदै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले परिणाममुखी र उदाहरणीय काम गर्न निर्देशन दिए।
पुराना कानुनहरूलाई समयानुकूल परिमार्जन गर्नका लागि ‘मिडिया काउन्सिल विधेयक’ र ‘आमसञ्चार विधेयक’ को मस्यौदामाथि छलफल अगाडि बढिसकेको जानकारी दिँदै मन्त्री डा. तिमिल्सिनाले गलत सूचना र दुष्प्रचार रोक्न काउन्सिलले सक्रिय र सकारात्मक हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए।
श्रेष्ठ नेपाली भाषाको पहिलो ब्लग ‘माइसंसार’ का संस्थापक पनि हुन्। वि.सं. २०३३ सालमा जन्मिएका श्रेष्ठले पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्।
उनले नागरिकन्युज डटकममा पाँच वर्ष वरिष्ठ संवाददाता, अन्नपूर्णपोस्ट डटकममा उपसम्पादक र पहिलोपोस्ट डटकममा पाँच वर्ष सम्पादकका रूपमा काम गरेका थिए।


