काठमाडौँ : अविरल वर्षाका कारण सिर्जना भएको विपत् जोखिमलाई मध्यनजर गर्दै हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो दुरीका सडक र कान्ति राजमार्गमा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ।
सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका भन्दै जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्मका लागि हेटौँडा–भैंसे–भीमफेदी–देउराली हुँदै काठमाडौँ जाने सवारी साधनलाई चौकीटोलमै रोक्ने निर्णय गरेको छ। यसैगरी, कान्ति राजमार्गमा पनि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
स्थानीय प्रशासनले बाटो बन्द भएका कारण हेटौँडामै बास बस्न बाध्य यात्रीहरूलाई मध्यनजर गर्दै प्रशासनले हेटौँडा बजार क्षेत्रका होटल व्यवसायीलाई विशेष अनुरोध गरेको छ। यात्रीहरूलाई सुलभ दरमा गुणस्तरीय खाना र बस्नको सेवा उपलब्ध गराई हेटौँडाको मान, प्रतिष्ठा र ख्याति बढाउनका लागि अपिल गरिएको छ।


