काठमाडौँ : राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले स्थानीय सरकार गैरदलीय हुनुपर्ने बताएकी छिन्।
प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले स्थानीय सरकार नागरिकको आँगनको अदालत भएको कारण राजनीतिक रंगबाट मुक्त गर्नुपर्नेमा जोड दिइन्।
उनले महिलामाथि हुने घरेलु तथा अन्य हिंसा लगायतका सेवा प्रवाहमा स्थानीय तह राजनीति रूपमा प्रस्तु त हुँदा समस्या भएको बताइन्।
पराजुलीले भनिन्‚ ‘मैले भन्न मिल्छ कि मिल्दैन थाहा छैन तर स्थानीय सरकार गैरदलीय हुनुपर्छ। स्थानीय सरकार भनेको आँगनको अदालत हो। त्यसो भएको हुनाले आँगनको अदालत भरोसायोग्य हुन स्थानीय सरकार गैरराजनीतिक हुनुपर्छ भन्ने लाग्छ।’
फरक प्रसंगमा बोल्दै अध्यक्ष पराजुलीले राष्ट्रिय महिला आयोगले नागरिक र राज्यलाई एकापसमा जोड्न पुलको काम गरिरहेको बताइन्। उनले महिला आयोगको अध्यक्षबाहेकका सदस्यहरूको योग्यताबारे संविधानमा उल्लिखित विषयमा प्रश्न उठाइन्।
उनले मानसिक रूपमा स्वस्थ र ४५ वर्ष पुगेको नेपाली नागरिक भएकै कारण आयोगको सदस्य बन्न पाउने व्यवस्था गरेर संविधानले महिला आयोगसँग के अपेक्षा गरेको हो ? भन्दै प्रश्न गरिन्।


