विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउने लक्ष्यसहित अर्जेन्टिना र इजिप्टबीच एटलान्टा स्टेडियममा आज प्ररिस्पर्धा हुँदैछ । खेल राति ९:४५ बजे सुरु हुनेछ।
तर अन्तिम १६ मा पुग्ने क्रममा अर्जेन्टिनाले केप भेर्डेविरुद्ध निकै संघर्ष गर्नुपरेको थियो।
खेलको २९औं मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। तर प्रतियोगितामा पहिलोपटक सहभागी भएको केप भर्डेका डेरोय डुआर्टेले दोस्रो हाफको सुरुआतमै गोल फर्काउँदै साविक विजेतालाई स्तब्ध पारे।
अतिरिक्त समयमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई फेरि अघि बढाए। तर सिड्नी काब्रालले उत्कृष्ट गोल गर्दै पुनः खेल बराबरीमा ल्याए।
अन्ततः डाइने बोर्जेसबाट आत्मघाती गोल भएपछि अर्जेन्टिनाले ३–२ को कठिन जित निकाल्दै विश्वकप इतिहासमा अतिरिक्त समयमा आफ्नो १०औँ जित दर्ता गर्यो।
विश्वकपमा अर्जेन्टिना र इजिप्टबीच यो पहिलो भेट हुनेछ। इजिप्टले अन्तिम–१६ पुग्ने क्रममा अघिल्लो चरणमा अष्ट्रेलियालाई पराजित गरेको थियो। त्यसैले विपक्षीलाई लिएर आफ्नो टोली पूर्ण सतर्क रहेको परेडेसले बताए।
परेडेसले भने, ‘हामीले सिकेको सबैभन्दा ठूलो पाठ भनेको कुनै पनि खेल सजिलो हुँदैन भन्ने हो। इजिप्टविरुद्ध पनि त्यही अवस्था हुनेछ।’
उनले थपे, ‘केप भर्डेविरुद्ध अन्तिम समयमा गोल गरेपछि प्रशिक्षकले ‘अब खेल सकियो’ भन्नुभएन। उहाँले अन्तिमसम्म पूरा शक्ति लगाउन, प्रयास जारी राख्न र दबाब बनाइरहन भन्नुभयो। अन्तिम क्षणसम्म सबै कुरा मैदानमै छोड्नुपर्छ भन्ने उहाँको सन्देश थियो।’
अर्जेन्टिनाले विश्वकपमा अफ्रिकी टोलीविरुद्ध खेलेका पछिल्ला आठै खेल जितेको छ। यो संस्करणमा पनि उसले अल्जेरियालाई ३-० र केप भर्डेलाई ३-२ ले हराएको छ।
विश्वकप इतिहासमा कुनै पनि टोलीले एउटै संस्करणमा अफ्रिकी राष्ट्रविरुद्ध ३ खेल जितेको उदाहरण छैन।
त्यस्तै, साविक विजेताले विश्वकपको अन्तिम–१६ का आफ्ना पछिल्ला ५ खेल लगातार जितेका छन्। यस चरणबाट बाहिरिने पछिल्लो साविक विजेता इटाली हो। जसले सन् १९८६ मा फ्रान्ससँग २–० ले हार बेहोरेको थियो।
चार वर्षअघि अर्जेन्टिनाको विश्वकप विजेता टोलीका सदस्य रहेका परेडेसले यो संस्करणमा एक खेल मात्र सुरुआती रोजाइमा खेलेका छन्। तर प्रशिक्षक लियोनेल स्कालोनीले अवसर दिए आफू सधैं तयार रहेको उनले बताए।
उनले भने, ‘म आफैलाई सधैं सुरुआती टोलीमा देख्छु। तर अन्तिम निर्णय प्रशिक्षककै हुन्छ, उहाँले नै पहिलो ११ छनोट गर्नुहुन्छ। हामीले सधैं आफ्नो सबैभन्दा उत्कृष्ट प्रदर्शन दिने प्रयास गर्नुपर्छ। हरेक खेलमा त्यो सम्भव नहुन सक्छ, कहिलेकाहीँ संघर्ष गर्नुपर्छ। तर जित नै सबैभन्दा महत्वपूर्ण हो।’
उनले थपे ,’ थकान हुनु स्वाभाविक हो। मैदानको अवस्थाले पनि असर गरेको थियो। तर हामी शारीरिक र मानसिक दुवै रूपमा राम्रो अवस्थामा छौं। केप भेर्डेविरुद्ध जस्तै अब पनि कुनै खेल सजिलो हुने छैन। सबैभन्दा महत्वपूर्ण कुरा जित निकाल्नु थियो, र हामी त्यसमा सफल भयौं।’
अर्जेन्टिना र इजिप्टको विजेताले अन्तिम आठमा कोलम्बिया वा स्विट्जरल्यान्डमध्ये एकसँग खेल्नेछ।


