आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको जोखिम

एटुजेड समाचार

काठमाडौं। हाल नेपालभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानकै आसपासमा अवस्थित छ।

यसकै प्रभावका कारण अहिले कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली (बादल लाग्ने) रहेको छ। साथै, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू-भागमा पनि साधारणतया बदली रहेको छ भने हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था छ।

दिउँसोको मौसम पूर्वानुमान

आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा भने आंशिक बदली हुने महाशाखाले जनाएको छ।

यसैगरी, देशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरू तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको आकलन गरिएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराई क्षेत्रका केही स्थानमा आज हावाहुरी चल्ने सम्भावना छ।

रातिको मौसम पूर्वानुमान

आज राति देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा पानी पर्नेछ। मधेश, कर्णाली र बागमती प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको योग छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बुलेटिनमार्फत सचेत गराएको छ।

भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु