स्पेन आज अमेरिकाको डलासमा हुने फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा पोर्चुगलसँग खेल्दै छ। खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।
स्पेनले अघिल्लो चरणमा अस्ट्रियालाई ३-० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो। विश्वकप र युरोकपमा स्पेन र पोर्चुगलबीच यसअघि ५ पटक भेट भएको छ। तीमध्ये ३ खेल बराबरीमा टुंगिएका छन् भने दुवै टोलीले समान १ जित निकालेका छन्।
सन् २०१८ को विश्वकपमा दुवै टोलीले ३-३ को रोमाञ्चक बराबरी खेलेका थिए भने युरो २०१२ को सेमिफाइनल गोलरहित बराबरीपछि स्पेन पेनाल्टी सुटआउटमार्फत फाइनल पुगेको थियो।
पोर्चुगलसँग भिटिन्हा, जोआँ नेभेस र ब्रुनो फर्नान्डेजजस्ता विश्वस्तरीय मिडफिल्डर भएकाले धेरैले उनीहरूको मिडफिल्डलाई प्रतियोगिताकै उत्कृष्ट मानिरहेका छन्। तर डे ला फुएन्टे भने यसमा सहमत छैनन्।
उनले भने, ‘मेरो विचारमा, सबैप्रति पूर्ण सम्मानका साथ भन्नुपर्दा, हामीसँग विश्वकै उत्कृष्ट मिडफिल्ड छ। प्रत्येक स्थानका लागि हामीसँग दुई–दुई उत्कृष्ट खेलाडी छन्।’
उनले रोड्री, मार्टिन जुबिमेन्डी, फाबियन रुइज, पेड्री, डानी ओल्मो, मिकेल मेरिनो, अलेक्स बेएना, गाभी र फर्मिन लोपेजजस्ता खेलाडीहरूको नाम लिँदै स्पेनको मिडफिल्ड गहिरो र सन्तुलित रहेको बताए।
२०१० को विश्वकप जित्दा जाभी, जाबी आलोन्सो, सर्जियो बुस्केट्स र आन्द्रेस इनिएस्टाले स्पेनको मिडफिल्ड सम्हालेका थिए। त्यतिबेला टोलीमा सेस्क फाब्रेगास, जुआन माटा र डेभिड सिल्भा पनि थिए।
डे ला फुएन्टेले त्यो टोली असाधारण रहेको स्वीकार गर्दै भने, ‘फुटबल परिवर्तन भइसकेको छ, तर अहिलेको हाम्रो मिडफिल्डलाई पनि म लगभग त्यही स्तरमा राख्छु।’
यो विश्वकपमा पेड्री उत्कृष्ट लयमा छन्। पेड्रीको प्रशंसा गर्दै डे ला फुएन्टेले भने, ‘उनी जादुगर हुन्। कठिनभन्दा कठिन काम पनि सहज देखिने गरी गर्छन्। उनी त्यस्ता पास देख्छन्, जुन अरूले देख्न सक्दैनन्। यस्ता क्षमता प्रतिभाशाली खेलाडीमा मात्र हुन्छ।
यद्यपि स्पेन क्वार्टरफाइनल पुग्न चाहन्छ भने उसले क्रिस्टियानो रोनाल्डोलाई रोक्नुपर्नेछ। ४१ वर्षीय रोनाल्डोले अन्तिम–३२ मा क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत विश्वकपको नकआउट चरणमा आफ्नो पहिलो गोल गरेका थिए।


