चितवन – पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुंगा–मुग्लिन सडक खण्डमा हुनसक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै सडक विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ । ‘२०८३ मनसुन पूर्व तयारी कार्ययोजना’ नाम दिइएको यस योजनाले बाढी र पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन विशेष रणनीति तय गरेको छ ।
आयोजना कार्यालयले गरेको अध्ययन अनुसार यस सडक खण्डका नौवटा स्थानलाई पहिरोको अति उच्च जोखिममा राखिएको छ । जसमा नागढुंगा–नौबिसे खण्डको झ्याप्ले खोला, खत्रीपौवा र सिक्रे खोला रहेका छन् ।
त्यसैगरी नौबिसे–मलेखु खण्डअन्तर्गत ४ किलो, ७ किलो, ९ किलो, १३ किलो (कोइरालेभिर), मछेडी खोला र घाटबेशी क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।
सडक बन्द हुन नदिन र जोखिम न्यूनीकरण गर्न विभागले विभिन्न रोकथामका उपायहरू अपनाएको छ । विगतमा ठुलो क्षति व्यहोरेको झ्याप्ले खोला र महेश खोला क्षेत्रमा स्लोप म्यानेजमेन्ट, रक एन्करिङ, माइक्रो पाइलिङ र वाल निर्माणजस्ता कामहरू सम्पन्न भइसकेका छन् । यसका साथै ठाउँ ठाउँमा घाँस रोप्ने र जुट नेटिङलगायतका ‘बायो–इन्जिनियरिङ’ प्रविधिको प्रयोग गरिएको छ ।
विपद्को समयमा तत्काल सडक खुलाउन नौबिसे, महादेववेशी, चिराउदी र घाटबेशी लगायतका क्याम्पहरूमा एक्स्काभेटर, लोडर र टिपरसहित प्राविधिक टोलीलाई चौबीसै घण्टा तैनाथ राखिएको छ । सडक अवरुद्ध भएको खण्डमा यात्रुलाई सडकको अवस्थाबारे रियल टाइम जानकारी दिन ट्राफिक प्रहरी र स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरिने कार्य योजनामा उल्लेख छ ।


