काठमाडौं – ताप्लेजुङका समाजसेवी मिङमा डण्डु शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले ८३४ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
उनी नेपाल क्रिकेट संघ (क्यान) को कोशी प्रदेशका संस्थापक अध्यक्षसमेत हुन् ।
माओवादी पृष्ठभूमिका शेर्पा गत संसदीय निर्वाचनभन्दा अगाडि रास्वपामा प्रवेश गरेका थिए । उनी लामो समयदेखि समाजसेवा, खेलकुद, पर्यटन प्रवर्द्धन तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
विकट हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्य, सञ्चार तथा आधारभूत सेवाको पहुँच विस्तारका लागि निरन्तर आवाज उठाउँदै आएका शेर्पाले सामाजिक रूपान्तरण र जनसेवालाई आफ्नो मुख्य अभियान बनाएका छन् ।
दुर्गम हिमाली क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउने, शिक्षा र स्वास्थ्य सेवाको विस्तार तथा गुणस्तर सुधारका लागि उनको महत्वपूर्ण योगदान छ । नेपाल क्रिकेट संघ (क्यान) कोशी प्रदेशका संस्थापक अध्यक्षका रूपमा उनले प्रदेशमा क्रिकेट खेलको विकास, विस्तार तथा संस्थागत सुदृढीकरणमा उल्लेखनीय भूमिका खेलेका थिए ।
खेलकुदमार्फत युवाहरूलाई अवसर प्रदान गर्दै सकारात्मक दिशातर्फ उन्मुख गराउने शेर्पाले प्रयास गर्दै आएका छन् ।
पर्यटन क्षेत्रको अथाह सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा राख्ने शेर्पाले ताप्लेजुङ तथा कञ्चनजंघा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि निरन्तर पहल गरिरहेका छन्। साथै, आदिवासी जनजाति समुदायका मुद्दाहरुमा पनि उनको गम्भीर सरोकार छ ।
शेर्पाले रास्वपाको ऐतिहासिक प्रथम महाधिवेशनमा आदिवासी जनजाति क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका थिए । उनी निर्वाचित हुन सफल भएका छन् ।


