चितवन – योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा सवा करोड पटक हवन भइसकेपछि तर्पन मार्जन भइरहेको छ । ब्राह्मणहरुले शनिबारसम्म तर्पन मार्जन गर्नेछन् । महायज्ञको समापन असार १४ गते हुनेछ । समापनका दिन पूर्ण आहूती हुने महायज्ञका मुख्यकर्ता एवम् संयोजक प्रेमनीधि भारद्धाजले जानकारी दिए । आज निर्जला एकादशी परेकाले महायज्ञ दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
गत वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञमा गोरखनाथको तान्त्रिक बिजमन्त्रद्धारा हवन गरिएको हो । पूर्ण आहूतिको दिन भक्तजनलाई विभूतिको प्रसाद वितरण गरिने छ । राष्ट्रगुरू योगी नरहरिनाथको संकल्प र राष्ट्र शान्ति, राष्ट्रको कल्याण, विश्व शान्ति र विश्वको कल्याणका लागि महायज्ञ आयोजना गरिएको हो ।


