कास्की। नेपालको पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटकहरूको उल्लेखनीय आगमन भएसँगै यहाँका होटल तथा पर्यटकीय क्षेत्रहरू भरिभराउ भएका छन्।
यतिबेला पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइडका सडकदेखि फेवातालको बीचमा रहेको तालबाराही मन्दिरसम्म भारतीय पर्यटकहरूको बाक्लो चहलपहल र रौनकता बढेको छ। सामान्यतया यो समयलाई पर्यटन क्षेत्रमा ‘अफसिजन’ अर्थात् मन्दीको समय मानिने भए पनि यसपटक भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन व्यवसायलाई निकै चलायमान बनाएको छ।
होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकहरूको उपस्थिति निकै उत्साहजनक छ।
छिमेकी मुलुक भारतमा यतिबेला बढ्दै गएको अत्यधिक गर्मीबाट राहत पाउन र विद्यालय तथा कार्यालयको बिदाको सदुपयोग गर्न भारतीय नागरिकहरूले नेपाललाई सहज र आकर्षक गन्तव्यका रूपमा रोजेका हुन्।
पोखरा आउने पाहुनाहरूको न्यानो स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायीको प्रमुख दायित्व भएको बताउँदै अध्यक्ष सुवेदीले पर्यटक बढेसँगै डुंगा सयर, पदयात्रा तथा अन्य साहसिक खेलकुदका गतिविधिहरूमा समेत उल्लेख्य वृद्धि भएको जानकारी दिए।
पछिल्लो डेढ महिनाको अवधिमा मात्रै पोखरामा करिब डेढ लाख भारतीय पर्यटक भित्रिएको तथ्यांक पर्यटन व्यवसायीहरूसँग छ। पर्यटकको यही ओइरोका कारण पोखराका होटलहरूको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको छ, जसमा पाँचतारे होटलदेखि साना होटल र धर्मशालाहरूसमेत समेटिएका छन्।
पोखरामा दैनिक १० हजारभन्दा बढी पर्यटकलाई आरामसँग राख्न सक्ने होटल क्षमता रहेको छ। भारतीय पर्यटकहरू विशेषगरी पोखराको तालबाराही, पुम्दीकोटको विशाल शिव मन्दिर, केदारेश्वर, विन्ध्यवासिनीका साथै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ र मनकामना मन्दिरको दर्शन गर्न बढी रुचि राख्ने गर्दछन्। धार्मिक यात्राका साथै उनीहरू छोटो दूरीको पदयात्रा, प्याराग्लाइडिङ, बन्जीजम्प, डुङ्गा सयर र र्याफ्टिङ जस्ता गतिविधिमा पनि उत्तिकै सक्रिय छन्।
पर्यटकको यो आगमनले फेवातालका डुङ्गा व्यवसायीहरूमा सबैभन्दा ठूलो खुसी ल्याएको छ। फेवा डुंगा व्यवसायी संगठनका सहसचिव धनबहादुर विकका अनुसार अहिले दैनिक चारदेखि पाँच हजार भारतीय पर्यटकले फेवातालमा डुंगा सयर गरिरहेका छन्।
विगतमा दिनभरि तालको किनारमा डुङ्गा कुरेर बेलुका रित्तो हात घर फर्किनुपर्ने बाध्यता बेहोरेका मजदुर तथा व्यवसायीहरूको त्यो समस्या अहिले हटेको छ। हाल बाराही घाटबाट मात्रै दैनिक १४० भन्दा बढी डुंगाहरू निरन्तर चलिरहेका छन्।
होटल व्यवसायी पार्वती पाण्डेका अनुसार भारतीय पर्यटकहरू कोठाको मूल्यमा भन्दा पनि खानाको मूल्यमा बढी बार्गेनिङ गर्ने स्वभावका हुन्छन्। भारतमा होटलका कोठाहरू महँगो हुने भएकाले उनीहरू यहाँ कोठाको मूल्यमा खासै विवाद गर्दैनन्।
नेपाली नयाँ वर्षदेखि सुरु भएको पर्यटक आगमनको यो सुन्दर लहर जेठको अन्त्य हुँदै असारसम्म पनि निरन्तर कायम रहेपछि व्यवसायीहरू थप उत्साहित बनेका छन्। नेपालका पर्यटकीय तथा धार्मिक क्षेत्रहरूको भारतमा अझ व्यापक प्रचारप्रसार गर्न सके आगामी दिनमा यो सङ्ख्या अझै बढ्ने विश्वास व्यवसायीहरूको छ।


