सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिपसँगै प्रबिधि हस्तान्तरण

एटुजेड समाचार

चितवन – भरतपुरका २१ जना सीमान्तकृत तथा विपन्न समुदायका महिलाहरूलाई व्यवसाय प्रबद्र्धन सिप विकास सहित प्रबिधि हस्तान्तरण गरिएको छ।

बागमती प्रदेशका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीको सक्रियतामा भरतपुर महानगरपालिका भित्रका २१ जना विपन्न तथा सीमान्तकृत समुदायका महिलाहरूलाई सिलाई मेसिन हस्तान्तरण गरिएको हो।

भरतपुर महानगरपालिका २,४,५,७, ११ र १२ नम्बर वडाको सिफारिसमा वडा भित्रका २१ जना विपन्न तथा सिमान्तकृत समुदायका महिलाहरूलाई सिलाई मेसिन तथा ट्रेलर सञ्चालनका लागि आवश्यक अन्य सामग्री हस्तान्तरण गरिएको छ । बिभिन्न मापदण्डका आधारमा प्रत्येक वडाबाट तीन जना महिलाहरुलाई वडा कार्यालयले छनौैट गरेका महिलाहरूलाई सिलाई मेसिन सहितका सामग्री हस्तान्तरण गरिएको हो।

साथै उनीहरूलाई डिजिटल माध्यमबाट व्यवसाय प्रवर्धन तथा वित्तीय साक्षरता, व्यवसाय सञ्चालन लगायतका बिषयमा ३ दिने प्रशिक्षण समेत दिईएको थियो । यसअघि वडा प्रदेश तथा महानगरपालिकाबाट सीपमूलक तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका तथा तालिमको प्रमाणपत्र लिएर व्यवसाय सुरु गर्ने तयारीमा रहेका महिलाहरूलाई सामग्री हस्तान्तरण गरिएको हो। समूहमा आबद्ध भएर व्यवसाय सञ्चालन गर्न सक्ने महिलाहरुलाई विशेष ग्राहयता दिई सामग्री उपलब्ध गराइएको हो । प्रविधि हस्तान्तरण कार्यक्रम हाम्रो भरोसा नेपालको आयोजना तथा भरतपुर महानगरपालिका वडा नम्बर ७ को समन्वयमा सम्पन्न गरिएको छ।

विपन्न तथा सीमान्तकृत समुदायका महिलाहरूको व्यवसाय प्रवर्द्धनका लागि आयोजना गरिएको तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि बागमती प्रदेश सांसद तथा पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश सरकारले वितरण गरेको प्रविधिको उच्चतम सदुपयोग गर्दै व्यवसायमा अगाडि बढ्न महिलाहरूलाई अनुरोध गर्नुभयो। प्राप्त प्रविधिको सदुपयोग गरेको नगरेको भन्ने विषयमा अनुगमन आवश्यक गर्ने र वितरण गरिएको प्रविधिको प्रविधिको प्रयोग गरी सञ्चालन गरेको व्यवसायको अनुगमन गरिने समेत उहाँले जानकारी दिनुभयो।

विपन्न तथा सिमान्तीकृत महिलाहरूको व्यावसायिक विकासका लागि आफूले यस अगाडि पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरेको स्मरण गर्दै पूर्वमन्त्री जोशीले भावी दिनमा पनि आफू महिला र युवाको क्षमता विकास तथा व्यावसायकरणमा लागिपर्ने बताउनुभयो। प्रविधि हस्तान्तरण कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेको विशिष्ट आतिथ्यता तथा कार्यक्रम आयोजक संस्था हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का सदस्य अमृता गौतम, मिनबहादुर गुरुङ र रिता दर्जीको विशेष उपस्थिति रहेको थियो। त्यस्तै भरतपुर महानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका सहायक अधिकृत शोभादेवी ढकाल, शकुन्तला घिमिरे तथा उद्यम विकास सहजकर्ता रत्न पुरीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो। सहभागीहरूलाई डिजिटल सिप विकासका लागि प्रशिक्षक सगुन चपाईले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा सहभागी महिलाहरूले सिप सँगसँगै सिप विकास तालिमको आवश्यकता पहिचान गरी तालिम र प्रविधि उपलब्ध गराउनुभएकोमा प्रदेश सांसद उत्तम जोशीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आफू व्यावसायिक हुँदै अन्य महिलाहरूलाई समेत व्यवसायिक यात्रामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु