जनकपुरधाम – नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौंको पत्रादेशअनुसार मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाबाट कोशी प्रदेश प्रहरी गण, मोरङमा सरुवा भई जान लाग्नुभएका प्रहरी उपरीक्षक (एसपी) मानबहादुर राई लाई एक कार्यक्रमका बीच सम्मानपूर्वक बिदाइ गरिएको छ।
मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलिया को प्रमुख आतिथ्यतामा सम्पन्न बिदाइ कार्यक्रममा एसपी राईलाई माला, अबिर तथा मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको प्रशंसा गरिएको थियो। कार्यक्रममा सहभागी प्रहरी अधिकृत तथा कर्मचारीहरूले उहाँको व्यावसायिक दक्षता, जिम्मेवारीप्रतिको प्रतिबद्धता र संगठनप्रतिको समर्पणको खुलेर सराहना गरेका थिए।
मधेश प्रदेशमा कार्यरत रहँदा एसपी राईले शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा संगठनात्मक जिम्मेवारीलाई प्रभावकारी ढंगले निर्वाह गर्दै आफ्नो कार्यक्षमता प्रमाणित गर्न सफल भएको धारणा कार्यक्रममा व्यक्त गरिएको थियो। प्रहरी संगठनमा सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि जिम्मेवारीप्रति समर्पित र परिणाममुखी अधिकृतको योगदान सधैं स्मरणीय रहने वक्ताहरूले उल्लेख गरेका थिए।
कार्यक्रममा डिआईजी थपलियाले एसपी राईले आफ्नो कार्यकालमा देखाएको व्यावसायिकता, अनुशासन र नेतृत्व क्षमताको प्रशंसा गर्दै कोशी प्रदेश प्रहरी गण, मोरङमा समेत उहाँले संगठनको अपेक्षा अनुरूप उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले जहाँ रहे पनि संगठनको मूल्य, मान्यता र जनविश्वासलाई अझ मजबुत बनाउने कार्यमा निरन्तर लागिरहन आग्रह गर्नुभयो।
बिदाइ कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूले एसपी राईको आगामी कार्ययात्रा सफल, उपलब्धिमूलक र प्रेरणादायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। आत्मीय वातावरणमा सम्पन्न कार्यक्रममा वर्तमान जिम्मेवारीमा पुर्याएको योगदानको कदर गर्दै नयाँ कार्यस्थलमा थप सफलता हासिल गर्न शुभेच्छा व्यक्त गरिएको थियो।
प्रहरी संगठनभित्र अनुभव, क्षमता र आवश्यकताका आधारमा हुने सरुवाले संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ सम्पन्न उक्त कार्यक्रममा एसपी मानबहादुर राईलाई सम्मानपूर्वक बिदाइ गर्दै सफल भविष्यको कामना गरिएको थियो।


