सिद्धिपुर, ललितपुर – स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै महालक्ष्मी नगरपालिका वडा नं. ६ ले समाजका ज्येष्ठ नागरिक, एकल महिला, अशक्त तथा दलित समुदायप्रति सम्मान र जिम्मेवारीको अनुपम उदाहरण प्रस्तुत गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को वडागत सामाजिक विकास कार्यक्रम अन्तर्गत स्वीकृत “ज्येष्ठ नागरिक सेवा सञ्चालन” योजना मार्फत वडा अध्यक्ष धर्म महर्जन को नेतृत्वमा ६७६ जना लाभग्राहीलाई दैनिक जीवनमा उपयोगी सामग्री वितरण गरिएको छ।
मिति २०८२ साल पुस मसान्तसम्म ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, एकल महिला, अशक्त तथा अन्य लक्षित वर्गका नागरिकहरूको मनोबल उच्च राख्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा भ्याकुम फ्लास्क (तातो तथा चिसो सुरक्षित राख्न मिल्ने भाडो) र इलेक्ट्रिक केटल (पानी तताउने विद्युतीय भाडो) वितरण गरिएको हो।
ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यसहित प्रदान गरिएका यी सामग्रीहरूलाई लाभग्राहीहरूले निकै उपयोगी र समयसापेक्ष सहयोगका रूपमा लिएका छन्।
वडा कार्यालयका अनुसार कार्यक्रममा १९ जना अति अशक्त, ८० जना एकल महिला, ५०२ जना ज्येष्ठ नागरिक, २ जना दलित ज्येष्ठ नागरिक, ६५ जना ज्येष्ठ एकल महिला, ७ जना पूर्ण अशक्त तथा १ जना दलित बालबालिका गरी कुल ६७६ जना लाभग्राही प्रत्यक्ष रूपमा समेटिएका छन्।
यसरी ठूलो संख्यामा लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुग्ने गरी सञ्चालन गरिएको कार्यक्रमलाई वडा नं. ६ को महत्वपूर्ण सामाजिक सुरक्षा अभियानका रूपमा हेरिएको छ।
विगतका वर्षहरूमा सडक, ढल, खानेपानी, शिक्षा तथा अन्य पूर्वाधार विकासका कामहरूलाई तीव्रता दिँदै आएको वडा नं. ६ ले यसपटक सामाजिक विकास र मानवीय संवेदनालाई केन्द्रमा राख्दै ज्येष्ठ नागरिक तथा कमजोर अवस्थाका नागरिकहरूको सम्मानमा विशेष कार्यक्रम सञ्चालन गरेको हो।
स्थानीयवासीहरूका अनुसार वडाध्यक्ष धर्म महर्जनले विकास निर्माणका योजनासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष धर्म महर्जनले भावुक हुँदै ज्येष्ठ नागरिकहरू समाजका जीवित इतिहास भएको बताए।
उनले भने, “आज हामी जुन स्थानमा उभिएका छौं, त्यो हाम्रा बुबाआमा, अग्रज र ज्येष्ठ नागरिकहरूको संघर्ष, पसिना र त्यागको परिणाम हो। उहाँहरूले आफ्नो जीवनको अमूल्य समय परिवार, समाज र देशका लागि समर्पण गर्नुभयो। त्यसैले उहाँहरूलाई सम्मान गर्नु हाम्रो दायित्व मात्र होइन, नैतिक कर्तव्य पनि हो।”
उनले उमेर ढल्कँदै जाँदा धेरै ज्येष्ठ नागरिकहरूले एक्लोपन, अशक्तता र उपेक्षाको पीडा भोग्नुपरेको यथार्थतर्फ संकेत गर्दै स्थानीय सरकार त्यस्ता नागरिकहरूको साथमा सधैं उभिने प्रतिबद्धता व्यक्त गरे।
“कुनै ज्येष्ठ नागरिकले आफूलाई एक्लो महसुस गर्न नपरोस्, कुनै आमाले आफ्ना पीडा सुनाउने मान्छे नभएको महसुस गर्न नपरोस् र कुनै अशक्त नागरिकले राज्यले हामीलाई बिर्सियो भन्ने अनुभूति गर्न नपरोस् भन्ने हाम्रो चाहना हो। आज वितरण गरिएका सामग्रीहरू सानो सहयोग मात्र हुन्, तर यसभित्र हाम्रो सम्मान, माया र साथ लुकेको छ,” उनले भने।
वडा अध्यक्ष महर्जनले सामाजिक सुरक्षालाई केवल भत्ता वितरणमा सीमित राख्न नहुने धारणा राख्दै नागरिकको वास्तविक आवश्यकता पहिचान गरेर प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्नु स्थानीय सरकारको दायित्व भएको बताए। उनले आगामी दिनमा पनि ज्येष्ठ नागरिक, एकल महिला, अशक्त तथा विपन्न वर्गको जीवनस्तर सुधारका लागि थप प्रभावकारी कार्यक्रमहरू ल्याइने जानकारी दिए।
कार्यक्रममा सहभागी धेरै ज्येष्ठ नागरिकहरू सामग्री प्राप्त गरेपछि भावुक बनेका थिए। उनीहरूले स्थानीय सरकारले आफूहरूलाई सम्झेर सम्मान गरेकोमा खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमले आत्मसम्मान बढाएको प्रतिक्रिया दिए।
एकल महिला तथा अशक्त नागरिकहरूले समेत राज्यको अनुभूति दिलाउने यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
स्थानीय समाजका अगुवाहरूका अनुसार पछिल्लो समय स्थानीय तहहरू विकास निर्माणमा केन्द्रित भइरहेका बेला महालक्ष्मी नगरपालिका वडा नं. ६ ले सामाजिक न्याय, मानवीय संवेदना र नागरिक सम्मानलाई पनि समान प्राथमिकता दिएको देखिएको छ।
विशेषगरी ज्येष्ठ नागरिक, एकल महिला र अशक्त नागरिकहरूलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो अभियानले स्थानीय सरकारप्रतिको विश्वासलाई अझ मजबुत बनाएको उनीहरूको भनाइ छ।
ज्येष्ठ नागरिकको सम्मान, एकल महिलाको आत्मविश्वास र अशक्त नागरिकको सहज जीवनयापनलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो कार्यक्रमले महालक्ष्मी–६ लाई सामाजिक उत्तरदायित्वको क्षेत्रमा उदाहरणीय वडाका रूपमा स्थापित गरेको छ।
वडा अध्यक्ष धर्म महर्जनको नेतृत्वमा सम्पन्न उक्त अभियानले विकास भनेको केवल भौतिक संरचना निर्माण मात्र नभई नागरिकको सम्मान, सुरक्षा, आत्मविश्वास र मानवीय संवेदनाको संरक्षण पनि हो भन्ने सन्देश प्रवाह गरेको छ।


