काठमाडौं – समाजमा बढ्दै गइरहेका विभिन्न प्रकारका आपराधिक गतिविधि, लागुऔषध दुव्र्यसन, सामाजिक विकृति तथा सार्वजनिक शान्ति भंग गर्ने कार्यप्रति प्रहरी कडाइका साथ प्रस्तुत हुने भन्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) राज कुमार सिंहले कानुन कार्यान्वयनमा कुनै प्रकारको सम्झौता नहुने स्पष्ट सन्देश दिएका छन्।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर–३१ तथा काठमाडौं महानगरपालिका वडा नं. ३१ अन्तर्गत शंखमूल विज्ञान मार्गस्थित आदर्श टोल विकास समितिको संयुक्त आयोजनामा शान्ति–सुरक्षा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। आदर्श टोल विकास समितिका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रहरी वृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख डीएसपी राज कुमार सिंह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै डीएसपी सिंहले शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको मात्र नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको बताए। उनले नागरिक र प्रहरीबीचको विश्वास, सहकार्य र सूचनाको आदान–प्रदान बलियो भएमा धेरै प्रकारका अपराधहरू सुरुमै नियन्त्रण गर्न सकिने उल्लेख गरे।
उनले भने, “समाजमा हुने चोरी, डकैती, लागुऔषध कारोबार, युवाहरूलाई कुलतमा फसाउने गतिविधि, घरेलु हिंसा, साइबर अपराध तथा सार्वजनिक शान्ति भंग गर्ने जुनसुकै गतिविधिप्रति नेपाल प्रहरीको दृष्टिकोण स्पष्ट छ। अपराध र अव्यवस्थाप्रति कुनै सम्झौता हुँदैन। कानुनभन्दा माथि कोही छैन, कानुन उल्लंघन गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याइन्छ।”
डीएसपी सिंहले पछिल्लो समय शहरी क्षेत्रमा अपराधको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै परम्परागत अपराधसँगै साइबर अपराध, अनलाइन ठगी, सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग तथा युवापुस्तालाई लक्षित गरेर सञ्चालन हुने गैरकानुनी गतिविधिबारे विशेष सचेत रहनुपर्ने आवश्यकता औंल्याए। उनले अभिभावक, शिक्षक, सामाजिक संघ–संस्था तथा स्थानीय समुदाय सबैले युवापुस्ताको गतिविधिमाथि सकारात्मक निगरानी बढाउनुपर्ने बताए।
उनले भने, “प्रहरीले मात्र सबै ठाउँमा पुगेर निगरानी गर्न सम्भव हुँदैन। नागरिकले आफ्नो वरपर देखिने शंकास्पद गतिविधिबारे समयमै जानकारी गराए धेरै घटना हुनुअघि नै रोक्न सकिन्छ। समुदायको सक्रियता नै सुरक्षित समाज निर्माणको आधार हो।”
डीएसपी सिंहले सूचना दिने नागरिकको पहिचान र गोपनीयता सुरक्षित राखिने स्पष्ट पार्दै अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरे। उनले समाजमा हुने साना कमजोरीहरू समयमै नियन्त्रण गर्न नसकिए भविष्यमा त्यसले ठूला सुरक्षा चुनौती निम्त्याउन सक्ने बताए।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रमा देखिएका विभिन्न सुरक्षा चुनौती, सार्वजनिक स्थानमा हुने अवाञ्छित गतिविधि, युवापुस्तामा बढ्दो दुव्र्यसन, सडक सुरक्षालगायतका विषयमा जिज्ञासा राखेका थिए। उनीहरूले समुदाय–प्रहरीबीच यस्ता नियमित अन्तरक्रिया कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
स्थानीयवासीहरूले शान्ति–सुरक्षा कायम राख्न प्रहरीको भूमिका महत्त्वपूर्ण भए पनि समुदायको सहभागिता उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै टोलस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा सहभागीहरूले अपराध नियन्त्रण, सामाजिक सद्भाव कायम राख्ने उपाय, नागरिक सचेतना तथा स्थानीय तहमा अपनाउन सकिने सुरक्षात्मक उपायबारे पनि छलफल गरेका थिए।
आदर्श टोल विकास समितिका अध्यक्ष केशव प्रसाद घिमिरेले समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ नजिक र प्रभावकारी बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले स्थानीय समस्याहरूको समाधानका लागि प्रहरी र समुदायबीच निरन्तर संवाद आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा टोल विकास समितिका पदाधिकारी, स्थानीय अगुवा, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शान्ति–सुरक्षा कायम राख्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गर्दै सुरक्षित, सभ्य र अनुशासित समाज निर्माणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा डीएसपी सिंहले शान्ति–सुरक्षा कायम राख्न नेपाल प्रहरी सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नागरिक र प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले सुरक्षित समाज निर्माणका लागि “प्रहरी र जनता एकअर्काका सहयात्री” भएको उल्लेख गर्दै समुदायको साथ, सहयोग र विश्वास नै प्रहरीको सबैभन्दा ठूलो शक्ति भएको बताए।
समुदाय–प्रहरी साझेदारी अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजित उक्त अन्तरक्रिया कार्यक्रमले स्थानीयस्तरमा सुरक्षा सचेतना बढाउनुका साथै प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप विश्वासिलो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


