भरतपुर – मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्लागण्डकी नगरपालिका–९, खैरेनिटार स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१६ शिवघाट बस्दै आएका ३३ वर्षीय नारायण कुंवरलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार कुंवरले भरतपुर–१६ शिवघाटमा सञ्चालन गर्दै आएको एक एजेन्सीमा कार्यरत महिलालाई विभिन्न प्रलोभन देखाई एजेन्सीमा आउने ग्राहकसँग जबर्जस्ती यौन सम्पर्क गर्न लगाएको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय भरतपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पक्राउ परेका कुंवरलाई चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


