मलेसिया उड्न लागेका नेपाल एयरलाइन्स कर्मचारी अवैध विदेशी मुद्रासहित पक्राउ

एटुजेड समाचार

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रा अवैध रूपमा विदेश लैजान खोजेको आरोपमा नेपाल एयरलाइन्सका एकजना कर्मचारी पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थली बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वासलाई सोमबार राति पक्राउ गरिएको हो। उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समा ग्राउण्ड इक्विपमेन्ट अपरेटर (जीईओ) का रूपमा कार्यरत छन्।

प्रहरीका अनुसार विश्वास मलेसियाको क्वालालम्पुर जानका लागि बाटिक एयरको उडान नम्बर ओडी१८१ मार्फत् भिजिट भिसामा जाने क्रममा थिए।

त्यस क्रममा सामान स्क्रिनिङ तथा शरीर खानतलासी गर्दा उनको कालो रङको लगेजभित्र रहेको फलामको कराईमा लुकाइएका विभिन्न देशका मुद्रा बरामद गरिएको थियो।

बरामद मुद्रामध्ये १४ हजार ८५० अमेरिकी डलर, २ हजार ९७० ओमानी रियाल, २३ हजार ६३२ मलेसियन रिङ्गिट, ३ हजार ५४० पाकिस्तानी रुपैयाँ, ७ हजार ७७० श्रीलंकाली रुपैयाँ र ४१ हजार जापानी येन छन्।

त्यस्तै १ हजार पश्चिम अफ्रिकी फ्राङ्क तथा ११ लाख नेपाली रुपैयाँ रहेका छन्। ती मुद्राको कुल नेपाली मूल्य ५४ लाख ७१ हजार ६ सय ८९ रुपैयाँ ३२ पैसा रहेको प्रहरीले जनाएको छ।

राहदानी जाँचका क्रममा उक्त रकमको वैधानिक दरपीठ (डिक्लेयरेसन) नभेटिएको र विश्वासले यसअघि विभिन्न समयमा २६ पटक विदेश यात्रा गरेको खुलेको विमानस्थल प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु