गैंडाकोटमा घरायसी विवादले लियो ज्यान, बुबाको खुर्पा प्रहारबाट छोराको मृत्यु

एटुजेड समाचार

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा घरायसी विवादका कारण बुबाले आफ्नै छोरामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

प्रहरीका अनुसार गैंडाकोट नगरपालिका वडा नं. १५ चिन्तामणी टोल निवासी ६३ वर्षीय डम्मर गिरीले हिजो गएराति अन्दाजी १०:०० बजे घरायसी विवादका क्रममा आफ्ना ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए।
खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकर गिरीलाई तत्कालै उद्धार गरी उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकहरूले राति १०:४५ बजे उनलाई मृत घोषित गरेका हुन्।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलबाटै खुर्पा बरामद गर्नुका साथै छोराको हत्यामा संलग्न आरोपी बुबा डम्मर गिरीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका गिरीमाथि हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु