भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिको सभापतिमा सीता ज्ञवाली निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न प्रथम महानगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ३३५ मत प्राप्त गर्दै ज्ञवाली सभापतिमा निर्वाचित हुनुभएको हो।
सभापति पदका अर्का उम्मेदवार सुबास गैरैले २५६ मत प्राप्त गर्नुभएको थियो।
यस्तै, उपसभापतिमा दिवाकरराज श्रेष्ठ ३६६ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी इन्दिरा बरालले २०९ मत प्राप्त गर्नुभयो । सचिव पदमा सूर्यराज अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
सहसचिव पदमा शिवराज सुवेदी ४२६ मतसहित निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष पद भने पछि मनोनयनमार्फत पूर्ति गरिने जनाइएको छ।
अधिवेशनबाट पुरुष १०, महिला ८ र दलित १ जना गरी २१ सदस्य निर्वाचित भएका छन्। दुई सदस्य पछि मनोनयन गरिने व्यवस्था रहेकाले २३ सदस्यीय महानगर कार्यसमिति रहनेछ।
रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री भुपदेव शाहले गर्नुभएको थियो।


