बालकुमारी कलेज र वालिङ बहुमुखी क्याम्पसबिच शैक्षिक अन्तरक्रिया तथा ज्ञान आदान–प्रदान सम्पन्न

एटुजेड समाचार

भरतपुर, चितवन – उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा शैक्षिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बालकुमारी कलेज, भरतपुर र वालिङ बहुमुखी क्याम्पसबिच एक महत्वपूर्ण शैक्षिक अन्तरक्रिया तथा ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। २०८३ जेठ १५ गते बालकुमारी कलेजको सभाहलमा आयोजित उक्त कार्यक्रम शिक्षण–सिकाइ गतिविधि, QAA (Quality Assurance and Accreditation) सम्बन्धी अभ्यास, अनुसन्धानमूलक शिक्षा, संस्थागत गुणस्तर सुधार तथा विभिन्न शैक्षिक संयन्त्रहरूको प्रभावकारी कार्यसम्पादनमा केन्द्रित रहेको थियो।

कार्यक्रममा बालकुमारी कलेजका प्राचार्य कुलचन्द्र पण्डितको प्रमुख उपस्थितिसहित पूर्व प्राचार्य प्रा. शिवप्रसाद पौडेल, उपप्राचार्यहरू, MBA निर्देशक, IQAC का पदाधिकारी, विभिन्न विभागीय प्रमुखहरू, प्राध्यापक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। त्यसैगरी वालिङ बहुमुखी क्याम्पसका प्राचार्य विष्णु गैरे, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न सेलका संयोजक, प्राध्यापक तथा कर्मचारीसहित १७ सदस्यीय प्रतिनिधिमण्डलको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्राचार्य कुलचन्द्र पण्डितले गुणस्तरीय उच्च शिक्षा प्रवर्द्धनका लागि संस्थाहरूबीच अनुभव आदान–प्रदान अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले शैक्षिक वातावरणलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले बालकुमारी कलेजले शिक्षण–सिकाइ, अनुसन्धान, नवप्रवर्तन तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर कार्य गरिरहेको बताउनुभयो।

पूर्व प्राचार्य प्रा. शिवप्रसाद पौडेलले समुदाय क्याम्पसहरूबीच सहकार्य, अनुभव आदान–प्रदान तथा साझा रणनीति निर्माणले उच्च शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा राख्नुभयो। उहाँले विश्वविद्यालयीय मापदण्डअनुसार शैक्षिक गुणस्तर कायम राख्न शिक्षक, विद्यार्थी तथा व्यवस्थापन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो।

वालिङ बहुमुखी क्याम्पसका प्राचार्य विष्णु गैरेले बालकुमारी कलेजले हासिल गरेका शैक्षिक उपलब्धि, व्यवस्थापन प्रणाली तथा QAA सम्बन्धी अभ्यासहरू अनुकरणीय रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले दुई संस्थाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै भावी दिनमा संयुक्त शैक्षिक गतिविधिका सम्भावनाहरू समेत विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो।

Forbes

कार्यक्रममा IQAC को भूमिका, विभागीय कार्यसम्पादन, विद्यार्थी सहयोग प्रणाली, अनुसन्धान तथा प्रकाशन गतिविधि, शैक्षिक अनुगमन, प्रशासनिक व्यवस्थापन, परीक्षा प्रणाली, अतिरिक्त क्रियाकलाप तथा संस्थागत सुधारका विविध पक्षमा प्रस्तुतीकरण र छलफल गरिएको थियो। सहभागीहरूले समुदाय क्याम्पसहरूले भोगिरहेका चुनौती, स्रोत व्यवस्थापन, विद्यार्थी आकर्षण, डिजिटल शिक्षण प्रणाली तथा गुणस्तर सुनिश्चितताका उपायहरूबारे समेत आफ्ना अनुभव साझा गरेका थिए।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको विभिन्न सेल तथा समितिहरूको कार्यप्रणालीबारे गरिएको अवलोकन र छलफल थियो। वालिङ बहुमुखी क्याम्पसको टोलीले बालकुमारी कलेजका IQAC, Research Management Cell, Examination Committee, Student Counseling System लगायतका संयन्त्रहरूको अभ्यासबारे जानकारी लिएको थियो।

कार्यक्रमका सहभागीहरूले यस्ता शैक्षिक अन्तरक्रिया र ज्ञान साझेदारी कार्यक्रमहरूले संस्थागत क्षमता विकास, अनुसन्धान संस्कृति प्रवर्द्धन तथा गुणस्तरीय शिक्षाको वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। साथै भविष्यमा समेत यस्ता सहकार्यात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु