काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले खेलकुद विकासका विभिन्न योजना सार्वजनिक गरेका हुन्।
गत आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट छुट्याइएको थियो। आगामी आर्थिक वर्षका लागि सरकारले शिक्षा र खेलकुदका लागि छुट्टाछुट्टै बजेट व्यवस्था गरेको छ।
शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने नीति लिएको जनाएको छ। सोहीअनुसार आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने भएको छ।
यस्तै, देशमा प्रमुख ८ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताए। विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा २ हजार दर्शक क्षमता भएका इन्डोर बहुउद्देश्यीय रंगशाला तीन वर्षभित्र निर्माण गर्ने योजना पनि सरकारले अघि सारेको छ।
सरकारले मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, मोरङस्थित गिरिजाप्रसाद कोइराला रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गर्ने जनाएको छ।
यस्तै, खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालय तहदेखि नै छनोट गरी आवासीय सुविधासहित प्रशिक्षण दिने व्यवस्था मिलाइने भएको छ।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवनयापनका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा पनि बजेटमा गरिएको छ।


