नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी ले मोरङ र सुनसरी जिल्लाको ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा सेवा प्रवाहको स्थलगत निरीक्षण गर्दै दुर्घटना न्यूनीकरणका लागि कडाइका साथ प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ।
जेठ १४ गते सम्पन्न निरीक्षण तथा अनुगमनका क्रममा उहाँले बढ्दो सवारी चाप, सडक दुर्घटना र ट्राफिक चुनौतीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अब ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित, प्रविधिमैत्री र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले ट्राफिक प्रहरी कर्मचारीहरुलाई अनुशासन, पारदर्शिता, जिम्मेवारी र सेवाभावलाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिँदै “नागरिकले सडकमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु नै हाम्रो पहिलो दायित्व हो” भन्ने स्पष्ट सन्देश दिनुभयो।
उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि केवल कारवाही मात्र नभई जनचेतना अभिवृद्धि, सुरक्षित सवारी संस्कृतिको विकास तथा चालकहरुको व्यवहार सुधार पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। ट्राफिक नियम कार्यान्वयनसँगै नागरिकसँग मैत्रीपूर्ण व्यवहार गर्न, सेवा प्रवाहलाई सहज बनाउन तथा प्रविधिको अधिकतम प्रयोग गर्न उहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो।
निरीक्षणका क्रममा एसएसपी तिवारीले ट्राफिक प्रहरी कर्मचारीहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरुले भोगिरहेका समस्या, चुनौती तथा आवश्यकताबारे जानकारी लिनुभएको थियो। उहाँले फिल्डमा खटिएका प्रहरी कर्मचारीहरुको मेहनत र जिम्मेवारीप्रति प्रशंसा व्यक्त गर्दै समस्या समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता समेत जनाउनुभयो।
यसैबीच “सुरक्षित चालक अभियान” लाई थप प्रभावकारी बनाउने उद्देश्यले सिटी सफारी चालकहरुलाई सुरक्षित चालक अंकित ज्याकेट वितरण गरिएको थियो। कार्यक्रममा चालकहरुलाई ट्राफिक नियमको पालना, यात्रुप्रति जिम्मेवार व्यवहार तथा सुरक्षित सवारी सञ्चालनका विषयमा सचेत गराइएको थियो। चालकहरुले पनि यस्तो अभियानले आफूहरुलाई थप जिम्मेवार बन्न प्रेरणा मिलेको बताएका थिए।
निरीक्षणकै क्रममा सकारात्मक र प्रेरणादायी उदाहरणका रूपमा सिटी सफारी चालक रमेश कामतलाई विशेष सम्मान गरिएको थियो। यात्रुले सवारीमा छुटाएको ल्यापटप, ३० हजार रुपैयाँ नगद तथा एटिएम कार्डसहितको झोला सुरक्षित फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मेवारीपूर्वक फिर्ता गरेको भन्दै उहाँलाई कदरपत्रसहित सम्मान गरिएको हो। कार्यक्रममा एसएसपी तिवारीले यस्तो इमान्दार कार्यले समाजमा विश्वास, नैतिकता र मानवताको सन्देश प्रवाह गर्ने बताउँदै चालक कामतको खुलेर प्रशंसा गर्नुभयो।
त्यसपछि सुनसरीको धरानमा यातायात व्यवसायी, चालक तथा सहचालकहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन, सुरक्षित यात्रा तथा यातायात क्षेत्रका समस्या समाधानका विषयमा खुला छलफल भएको थियो। चालक तथा व्यवसायीहरुले आफ्ना समस्या र सुझाव राखेका थिए भने एसएसपी तिवारीले सम्बन्धित निकायसँग समन्वय गरी समाधानको पहल गरिने विश्वास दिलाउनुभयो।
निरीक्षण भ्रमणमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरी, यातायात व्यवस्था कार्यालय मोरङका प्रमुख लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, दुर्घटना न्यूनीकरण गर्ने तथा नागरिकलाई सुरक्षित र सहज यात्रा अनुभूति दिलाउने उद्देश्यसहित गरिएको यो निरीक्षणलाई सकारात्मक र परिणाममुखी पहलका रूपमा हेरिएको छ। प्रहरीले कडाइसँगै जनचेतना, सेवा र सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढेको सन्देश समेत यस कार्यक्रमबाट स्पष्ट भएको छ।


