उपमेयर महर्जनको कडा चेतावनी: गल्ती गर्नेमाथि कारबाही हुन्छ, इमान्दार व्यापारी डराउनुपर्दैन

ललितपुर – महालक्ष्मी नगरपालिकाकी उपमेयर तथा बजार अनुगमन समितिकी संयोजक लक्ष्मी महर्जन ले उपभोक्ताको अधिकारमाथि खेलबाड गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, गुणस्तरहीन वस्तु बिक्री गर्ने तथा मनपरी मूल्य असुल्ने व्यापारीलाई कडा कारबाही गरिने चेतावनी दिएकी छन्।

महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोग तथा राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय कार्यालयको समन्वयमा वडा नं. ६ सिद्धिपुरमा आयोजित “उपभोक्ता सचेतना कार्यक्रम २०८३” लाई सम्बोधन गर्दै उपमेयर महर्जनले बजारमा देखिएको अव्यवस्था, कालोबजारी र उपभोक्ता ठगीविरुद्ध स्थानीय सरकार कठोर रूपमा प्रस्तुत हुने स्पष्ट पारिन्।

उनले भनिन्, “व्यापार गर्ने नाममा उपभोक्तालाई ठग्ने, म्याद गुज्रिएका सामान बेच्ने, मूल्यसूची नराख्ने, बिल नदिने र कृत्रिम मूल्यवृद्धि गरेर नागरिकको ढाड सेक्ने प्रवृत्ति अब सह्य हुँदैन। उपभोक्ताको अधिकारमाथि खेलबाड गर्ने जो–कोही पनि कारबाहीबाट उम्किन सक्दैन।”
उपमेयर महर्जनले बजार अनुगमनलाई लिएर केही व्यवसायीमा अनावश्यक त्रास फैलिएको उल्लेख गर्दै इमान्दार व्यवसायी डराउनुपर्ने कुनै कारण नरहेको बताइन्।

उनले स्पष्ट शब्दमा भनिन्, “उपमेयर अनुगमन गर्न आयो भन्दैमा पसल बन्द गरेर भाग्नुपर्ने अवस्था किन आउँछ ? यदि व्यापार नियमअनुसार भइरहेको छ भने डराउनुपर्ने कारण के छ ? सही र पारदर्शी व्यापार गर्ने व्यापारी हाम्रो सम्मानका पात्र हुन्। तर गलत गर्ने, उपभोक्तालाई ठग्ने र नियम मिच्नेहरूलाई अब कुनै छुट हुँदैन।”
उनले कतिपय व्यापारीले बजार अनुगमनलाई राजनीतिक वा व्यक्तिगत दबाबको रूपमा बुझ्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै अनुगमन उपभोक्ताको अधिकार संरक्षणका लागि भएको स्पष्ट पारिन्।

“अनुगमन कसैलाई दुःख दिने अभियान होइन, यो उपभोक्ताको अधिकार सुरक्षित गर्ने जिम्मेवारी हो। बजारमा अनुशासन कायम गर्न, गुणस्तर सुनिश्चित गर्न र उपभोक्तालाई ठगीबाट बचाउन स्थानीय सरकार आफ्नो दायित्वबाट पछि हट्दैन,” उनले भनिन्।
उपमेयर महर्जनले उपभोक्ता पनि उत्तिकै सचेत हुनुपर्नेमा जोड दिँदै नागरिकले आफूले खरिद गर्ने वस्तुको गुणस्तर, उत्पादन मिति, मूल्य र बिलबारे जानकारी राख्नुपर्ने बताइन्। उनका अनुसार उपभोक्ता आफैं सचेत नभएसम्म बजार पूर्ण रूपमा व्यवस्थित हुन सक्दैन।

Forbes

उनले भनिन्, “सचेत उपभोक्ता नै स्वस्थ बजार व्यवस्थापनको आधार हो। उपभोक्ताले प्रश्न गर्न सिक्नुपर्छ, बिल माग्नुपर्छ, म्याद हेर्नुपर्छ र गलत देखे उजुरी गर्नुपर्छ। नागरिक सचेत भए मात्र बजार सुधार सम्भव हुन्छ।”
बजार अनुगमन समितीको संयोजकको नाताले आफ्नो जिम्मेवारीबाट कुनै हालतमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै उनले बजारलाई व्यवस्थित बनाउन कठोर निर्णय लिन पनि पछि नपर्ने चेतावनी दिइन्।

“म बजार अनुगमन समितीको संयोजकको हैसियतले सबैको जिम्मेवारी लिने दायित्वबाट पछि हट्दिनँ। उपभोक्ताको अधिकार रक्षा गर्नु स्थानीय सरकारको संवैधानिक दायित्व हो। गलत काम गर्ने जो–कोही भए पनि कारबाहीको दायरामा आउँछ,” उनले भनिन्।

उनले नगरपालिकाले आगामी दिनमा बजार अनुगमनलाई अझ प्रभावकारी, नियमित र परिणाममुखी बनाउने जानकारी दिँदै मूल्यसूची नराख्ने, बिल नदिने, गुणस्तरहीन सामान बिक्री गर्ने र उपभोक्तामाथि ठगी गर्ने व्यवसायीमाथि कानुनी कारबाही गरिने स्पष्ट पारिन्।

कार्यक्रममा उपभोक्ताको अधिकार, गुणस्तरीय वस्तु तथा सेवाको प्रयोग, मूल्य पारदर्शिता, बजार अनुगमन, उपभोक्ता संरक्षण ऐन तथा जिम्मेवार उपभोग संस्कृतिबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। प्रशिक्षकहरूले दैनिक उपभोग्य वस्तु खरिद गर्दा अपनाउनुपर्ने सावधानी, म्याद गुज्रिएका सामग्री पहिचान गर्ने उपाय तथा उपभोक्ता अधिकार हनन भएमा उजुरी दिने प्रक्रियाबारे समेत जानकारी दिएका थिए।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले बजारमा अझै पनि मूल्यमा एकरूपता नहुने, बिल नदिने तथा गुणस्तरहीन सामग्री बिक्री हुने समस्या रहेको गुनासो गरेका थिए। सहभागीहरूले नियमित बजार अनुगमनलाई निरन्तरता दिन स्थानीय सरकारसँग माग गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने आयोजक, अतिथि, प्रशिक्षक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु