कास्की – नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस बृहत एकता र भावि कार्यदिशाको लागि गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई आज पोखरामा सम्बोधन गर्दै नेता कोइरालाले भने, “पार्टी बलियो भयो भने हामी बच्छौँ, पार्टी कमजोर भए हामी झनै कमजोर हुँदै जान्छौँ।”
“मलाई कुनै पद चाहिँदैन पार्टी एक हुनुपर्यो,” कोइरालाले भने, “पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्छ।” बिपी कोइरालाले त्यति बेला आफू प्रधानमन्त्री नभई सुवर्णलाई प्रधानमन्त्रीको प्रस्ताव राख्नुभएको उदाहरण दिँदै नेता कोइरालाले गगनकुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति हुनुभएको टिप्पणी गरे।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण पौडेलले पार्टीभित्र एकताको आवश्यकता महसुस भएको बताउँदै कांग्रेस नियमित महाधिवेशनको पक्षमा थियो एक्कासी विशेष महाधिवेशन गर्नु गलत भएको बताए।
पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री सरस्वती अर्यालले पार्टीभित्रका दूरदर्शी नेतालाई पन्छाएर पार्टी सभापति गगनकुमार थापा अगाडि जान नमिल्ने बताउँदै पार्टीका सबै नेतालाई समेटेर लान आग्रह गरे।


