बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीमाथि गरेको अनुसन्धानअनुसार उज्यालो कोठामा सुत्ने व्यक्तिहरूमा हृदयघातको जोखिम ३० देखि ५० प्रतिशतसम्म बढी पाइएको हो ।
अमेरिकी वैज्ञानिक पत्रिका JAMA Network Open मा प्रकाशित प्रतिवेदनमा प्रत्येक रात कृत्रिम उज्यालोमा सुत्नेहरूमा हृदयघातको जोखिम ४७ प्रतिशत, कोरोनरी धमनी रोगको जोखिम ३२ प्रतिशत तथा स्ट्रोकको जोखिम २८ प्रतिशतले बढेको उल्लेख गरिएको छ ।
अध्ययनका अनुसार रातिको कृत्रिम प्रकाशले मस्तिष्कमा तनाव बढाउने, धमनीहरूमा सूजन ल्याउने तथा शरीरको प्राकृतिक जैविक घडीमा असर पुर्याउने काम गर्छ ।
वैज्ञानिकहरूले स्वस्थ जीवनशैलीका लागि पूर्ण अन्धकारमा सुत्न सुझाव दिएका छन् । साथै सुत्नुभन्दा करिब ४ घण्टा अगाडिदेखि नै बत्तीको प्रयोग कम गर्न र ब्ल्याकआउट पर्दा प्रयोग गर्न सिफारिस गरिएको छ ।
अनुसन्धानले रातिको प्रकाशलाई हृदयरोगको महत्त्वपूर्ण जोखिम कारकमध्ये एकका रूपमा लिनुपर्ने निष्कर्ष निकालेको छ ।
विशेषज्ञहरूका अनुसार यो निष्कर्षले भविष्यमा सार्वजनिक स्वास्थ्य नीति निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्छ ।
विशेषगरी शहरहरूमा बढ्दो प्रकाश प्रदूषण र मोबाइल स्क्रिनको अत्यधिक प्रयोगले समस्या थप जटिल बन्दै गएको बताइएको छ ।


