“प्रहरी बिटकै अगाडि नारायणी अस्पतालमा दलाली ? एम्बुलेन्स र मेडिकल सेटिङमा बिरामी ठगिएको आरोप”

विरगंज – नारायणी अस्पताल एकपटक फेरि गम्भीर विवादमा तानिएको छ। उपचारका लागि गाउँघरबाट ठूलो आशा बोकेर आउने बिरामीमाथि अस्पतालभित्रै सक्रिय दलाल समूहले आर्थिक चलखेल गरिरहेको आरोप सार्वजनिक भएपछि सर्वसाधारणमा तीव्र आक्रोश फैलिएको छ।

पीडित तथा सेवाग्राहीहरूको गुनासो अनुसार अस्पताल परिसरमा केही एम्बुलेन्स ड्राईभर, बिचौलिया र बाहिरी औषधि पसलबीच संगठित रूपमा ‘सेटिङ’ हुने गरेको छ। बिरामी अस्पताल आइपुग्नासाथ उनीहरूलाई निश्चित मेडिकल पसलमा लैजाने, महँगो औषधि किन्न दबाब दिने र त्यसको बदलामा कमिसन खाने खेल चलिरहेको आरोप लागेको हो।

एक बिरामीले आफ्नो अनुभव सुनाउँदै भने, “हामी गाउँबाट ठूलो भरोसा लिएर आएका थियौं। सरकारी अस्पताल भएकाले सस्तो र सहज उपचार पाइन्छ भन्ने सोचेका थियौं। तर यहाँ त उपचारभन्दा पहिले कुन मेडिकलमा जाने भन्ने कुरा गरियो। हामीलाई अस्पतालभन्दा बाहिरका पसलमा बढी चासो देखियो।”

उनका अनुसार बिरामीको अवस्था गम्भीर हुँदा आफन्तहरू डर र तनावमा हुन्छन्। त्यही अवस्थाको फाइदा उठाएर केही व्यक्तिले तुरुन्तै बाहिरको मेडिकलमा पठाउने, ‘त्यहीँ सबै औषधि पाइन्छ’ भनेर दबाब दिने गरेको गुनासो छ।

विशेषगरी अस्पतालको इमर्जेन्सी वार्ड वरपर यस्तो गतिविधि बढी हुने गरेको चर्चा सेवाग्राहीबीच फैलिएको छ। आपतकालीन अवस्थामा आएका बिरामीका आफन्तलाई अलमल्याएर निश्चित औषधि पसल वा निजी सेवातर्फ मोड्ने काम भइरहेको आरोप छ।

Forbes

स्थानीयका अनुसार अस्पताल परिसरमा लामो समयदेखि सक्रिय कथित दलाली सञ्जालले बिरामीलाई “कहाँ लैजाने, कुन मेडिकलमा पठाउने, कुन एम्बुलेन्स प्रयोग गराउने” भन्ने सम्मको ‘डिल’ मिलाउने गरेको आशंका गरिएको छ। कतिपयले त अस्पताल वरिपरि खुलेआम बिचौलियाहरू घुमिरहेको देखिने बताएका छन्।

एक स्थानीयले भने, “अस्पतालभित्र बिरामीभन्दा बढी दलाल सक्रिय देखिन्छन्। कसैलाई एक्स–रे, कसैलाई औषधि, कसैलाई एम्बुलेन्स भन्दै बाहिर लगाइन्छ। गरीब र सोझा गाउँलेलाई सजिलै फसाइन्छ।”

यस घटनाले सरकारी अस्पतालप्रतिको जनविश्वासमाथि गम्भीर प्रश्न उठाएको छ। प्रदेशकै ठूलो सरकारी अस्पतालमध्ये एक मानिने नारायणी अस्पतालमा दैनिक सयौं बिरामी उपचारका लागि पुग्ने गर्छन्। तर उपचारको केन्द्र बन्नुपर्ने अस्पतालभित्रै दलाली मौलाएको आरोप आउनुले स्वास्थ्य सेवा प्रणालीमाथि नै प्रश्न उठेको स्थानीयको भनाइ छ।

आर्थिक रूपमा कमजोर परिवार सबैभन्दा बढी मारमा परेको गुनासो बढ्दो छ। “डाक्टरले लेखेको भन्दा धेरै औषधि किनाउन खोजिन्छ”, “अस्पतालमा पाइने सेवा बाहिर गराउन दबाब दिइन्छ”, “निश्चित मेडिकलबाट मात्र औषधि लिन भनिन्छ” भन्ने जस्ता आरोपहरू समेत सार्वजनिक हुन थालेका छन्।

कतिपय सेवाग्राहीले अस्पताल प्रशासनको कमजोर निगरानीका कारण यस्तो गतिविधि मौलाउँदै गएको बताएका छन्। अस्पताल परिसरमा सुरक्षा र अनुगमन प्रभावकारी नभएको, इमर्जेन्सी वार्ड वरिपरि अनधिकृत व्यक्तिको बाक्लो उपस्थितिले बिरामी र आफन्त थप हैरान हुने गरेको गुनासो छ।

स्थानीय बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूले घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन्। उनीहरूका अनुसार यदि सरकारी अस्पतालमै बिरामीलाई कमिसनको माध्यम बनाइन्छ भने स्वास्थ्य सेवा नै व्यापारमा परिणत हुने खतरा बढ्छ।

“सरकारी अस्पताल गरिब जनताको अन्तिम आशा हो। त्यही ठाउँमा दलाली र कमिसनको खेल चल्छ भने सर्वसाधारण कहाँ जाने ?” भन्दै एक सामाजिक अभियन्ताले आक्रोश व्यक्त गरे।

यता, सेवाग्राहीहरूले स्वास्थ्य मन्त्रालय, मधेश प्रदेश सरकार, जिल्ला प्रशासन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे तत्काल छानबिन गर्नुपर्ने माग गरेका छन्। अस्पतालभित्र सक्रिय भनिएको दलाली नेटवर्कमाथि निगरानी बढाउन, सीसीटीभी फुटेज जाँच गर्न, एम्बुलेन्स सञ्चालन प्रक्रियाको अनुगमन गर्न तथा दोषी देखिएकामाथि कडा कारबाही गर्न माग उठिरहेको छ।

कतिपयले अस्पताल परिसरभित्र अनधिकृत बिचौलियामाथि प्रतिबन्ध लगाउन र औषधि खरिद प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। बिरामीलाई अनावश्यक रूपमा बाहिरी मेडिकलमा पठाउने कार्य रोक्न तत्काल कडा कदम चाल्नुपर्ने आवाज समेत उठ्न थालेको छ।

पीडित पक्षका अनुसार घटनाबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साह लाई समेत गुनासो गरिएको थियो। तर गुनासोपछि पनि कुनै ठोस पहल वा कारबाही नभएको पीडितको दाबी छ। “हामीले मेसु साहेबलाई पनि कुरा राख्यौं, तर समस्या जस्ताको त्यस्तै छ,” एक पीडितले गुनासो गरे।

स्थानीय बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूले घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन्। उनीहरूका अनुसार यदि सरकारी अस्पतालमै बिरामीलाई कमिसनको माध्यम बनाइन्छ भने स्वास्थ्य सेवा नै व्यापारमा परिणत हुने खतरा बढ्छ।

“सरकारी अस्पताल गरिब जनताको अन्तिम आशा हो। त्यही ठाउँमा दलाली र कमिसनको खेल चल्छ भने सर्वसाधारण कहाँ जाने ?” भन्दै एक सामाजिक अभियन्ताले आक्रोश व्यक्त गरे।

यसबीच अस्पतालभित्र प्रहरी बिट हुँदाहुँदै समेत यस्तो गतिविधि रोक्न प्रभावकारी पहल नभएको भन्दै सर्वसाधारणले प्रश्न उठाउन थालेका छन्।

सेवाग्राहीहरू भन्छन्, “नेपाल प्रहरी को बिट अस्पतालमै छ, तर त्यहाँको अर्थ के हो भन्ने नै बुझिनसक्नु भएको छ। बिरामी ठगिने, दलाल खुला घुम्ने, बाहिर मेडिकलमा सेटिङ हुने — तर कसैले देख्दैनन्।” पीडित पक्षको आरोप अनुसार अस्पतालभित्र भइरहेका गतिविधिप्रति प्रहरी प्रशासनको समेत ध्यानाकर्षण हुन नसक्दा सर्वसाधारणको भरोसा कमजोर बन्दै गएको छ।

“यदि प्रहरीकै अगाडि यस्तो भइरहेको छ भने सर्वसाधारणले कसलाई विश्वास गर्ने ?” भन्दै एक स्थानीयले आक्रोश व्यक्त गरे। यस्तै, घटनाबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साह लाई समेत गुनासो गरिएको पीडितको दाबी छ। तर गुनासोपछि पनि कुनै ठोस पहल वा कारबाही नभएको उनीहरूको आरोप छ।

अब प्रश्न उठेको छ सरकारी अस्पतालभित्र चलिरहेको भनिएको यो दलालीको खेल आखिर कसको संरक्षणमा भइरहेको छ ?

किन बारम्बार बिरामी नै कमिसनको माध्यम बनिरहेका छन् ?
र सर्वसाधारणले सुरक्षित, निष्पक्ष र पारदर्शी स्वास्थ्य सेवा आखिर कहिले पाउने ?

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु