काठमाडौँ – नेपाल सरकार, गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी सेवाको रिक्त अतिरिक्त महानिरीक्षक (एआइजी) पदका लागि बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको जानकारी दिएको हो।
सिंहदरबारस्थित बढुवा समितिको सचिवालयको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम पोखरेललाई साधारण समूह, साधारण उपसमूहतर्फको रिक्त १ (एक) पदमा बढुवा गर्ने निर्णय गरेको हो। आइतबार (जेठ ५ गते) बसेको समितिको बैठकको निर्णयानुसार नै यो सिफारिस सूची तयार पारिएको सूचनामा उल्लेख छ।
सशस्त्र प्रहरी नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको गृह मन्त्रालयले जनाएको छ।
साथै, यस बढुवा सिफारिस उपर चित्त नबुझ्ने अन्य सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले नियमावलीको नियम ५५ मा भएको व्यवस्था बमोजिम सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष आफ्नो उजुरी दिन सक्ने व्यवस्था समेत गरिएको छ।
उक्त सूचनामा बढुवा समितिका सदस्य सचिव एवं सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले हस्ताक्षर गर्नुभएको छ भने यसको बोधार्थ लोक सेवा आयोग र बढुवा उपरको उजुरी सुन्ने समितिको सचिवालय कमलपोखरीलाई दिइएको छ।


