बजार अनुगमनमा मकवानपुर प्रशासन कडा, नियम उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

हेटौंडा –  मकवानपुर जिल्ला प्रशासन कार्यालयले बजारमा हुने अनियमितता नियन्त्रण तथा उपभोक्ता हित संरक्षणका लागि अनुगमनलाई तीव्र बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–१० स्थित सिमाचोक क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको तथा उपभोक्तालाई वस्तु तथा सेवासम्बन्धी स्पष्ट जानकारी नदिएको पाइएको छ ।

अनुगमन टोलीले विभिन्न व्यापारिक प्रतिष्ठानमा पुगेर उपभोग्य वस्तुको मूल्य, गुणस्तर, म्याद तथा कानुनी प्रावधानको पालना भए–नभएको विषयमा निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा कतिपय व्यवसायीले अनिवार्य रूपमा राख्नुपर्ने मूल्यसूची प्रदर्शन नगरेको, उपभोक्तालाई वस्तुको मूल्य र विवरण स्पष्ट रूपमा उपलब्ध नगराएको तथा उपभोक्ता अधिकारसम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन नगरेको भेटिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने बताउँदै कानुन विपरीत कार्य गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् । उनले व्यवसायीलाई नियमको पूर्ण पालना गर्न तथा पारदर्शी रूपमा व्यापार सञ्चालन गर्न आग्रह समेत गरे ।

अनुगमन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीसहित सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Forbes

जिल्ला प्रशासन कार्यालयले उपभोक्तालाई कुनै पनि किसिमको कालोबजारी, मूल्यमा मनपरी, गुणस्तरहीन वस्तुको बिक्री–वितरण वा अन्य अनियमितता देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ। प्रशासनले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन आगामी दिनमा पनि नियमित अनुगमन जारी रहने जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु