दोस्रो राष्ट्रिय महिला फुटबलको उपाधि नेपाल पुलिस क्लबलाई

एटुजेड समाचार

रूपन्देही — बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लब, काठमाडौंले संकटा फुटवल क्लब, काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगिताले पहिलो संस्करणको विजेता ट्रिनिटी क्लब, वालिङ बनेको थियो । पुलिसका लागि यस सिजनमा यो तेस्रो उपाधि हो । फाइनलमा पुलिसका तर्फबाट खेलको दोस्रो हाफको आठौं मिनेटमा सम्झना लावतीले गोल गरेकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफमा दुवै टिमबाट पोष्ट आक्रमणलाई कन्द्रित गर्दै खेललाई अगाडि बढाएका थिए । जसमा पुलिसले गोल गर्न सफल भयो ।

दुई टिमबीचको खेल तनावपूर्ण बनेको थियो । खेलमा मुख्य रेफ्री कीर्तिसेन ठकुरीले ५ वटा पहेँलो कार्ड देखाउनु परेको थियो । थप गरिएको सात मिनेट सकिएको संकेत गर्दै सिठ्ठी फुक्नासाथ दुवै टिमका खेलाडी मैदानभित्र एकापसमा भिड्न पुगेका थिए ।

फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ नेपाल पुलिस क्लबकी स्कोरर सम्झना लावती भइन् । उनले नगद ५ हजार प्राप्त गरिन् । पहिलो सेमिफाइनलमा गत वर्षको विजेता ट्रिनिटी क्लब, बालिङलाई हराउँदै नेपाल पुलिस क्लब र दोस्रो सेमिफाइनलमा संकटाले अभिषेक चर्चलाई हराएको थियो ।

उपाधि विजेता पुलिस क्लबले सिल्ड, प्रमाणपत्रसहित नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता संकटाले नगद १ लाख २५ हजार रुपैयाँसहित कप तथा प्रमाणपत्र पायो ।

Forbes

त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट  खेलाडी र सर्वाधिक गोलकर्ता संकटाकी लुसिया जेन्स भइन् । उनले नगद २५ हजार प्राप्त गरिन् । यसैगरी उत्कृष्ट गोलकिपर नेपाल पुलिसकी सपना राई,  उत्कृष्ट डिफेन्डर नेपाल पुलिस क्लबकै मोनिका रजाली मगर, राइजिङ प्लेयर नेपाल पुलिसकी सहारा लिम्बु, उत्कृष्ट फरवाड निर्मला विके, उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस क्लबका भोला सिलवाल, उत्कृष्ट मिडफिल्डर संकटाकी सिमरन राई  भइन् । उनीहरूले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सिल्ड तथा नगद पुरस्कार वितरण गरेका थिए । दुवै टिम दुई हप्ताअगाडि झापामा आयोजित चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगितामा पनि सहभागी थिए ।

प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राइजिङ स्टार क्लब कपिलवस्तु, पद्मा स्पोर्ट्स क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, मकवानपुर फुटबल एकेडेमी हेटौंडा र आयोजक बीस पचहत्तर युवा क्लब सहभागी थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु