काठमाडौं – नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मोबाइल प्रविधि आधुनिक जीवनको अपरिहार्य हिस्सा बनिसकेको बताएका छन् ।
नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान पुस्तादेखि आगामी पुस्तासम्म मोबाइल प्रविधिको प्रभाव झन् व्यापक हुँदै जाने उल्लेख गरे ।
उनले भने, ‘मोबाइल आजको जीवनसँग गासिएको प्रविधि हो । हाम्रो पुस्ताका लागि मात्र होइन, अहिलेको पुस्ता जन्मिँदै प्रविधिसँग जोडिएको छ । विश्वका धेरै मुलुकमा राजनीतिक परिवर्तनसमेत प्रविधिसँग गासिएको पुस्ताले ल्याएको देखिन्छ ।’
आङ्देम्बेका अनुसार नेपाल मोबाइल महासंघमा देशभरका ७० जिल्लाका करिब २७ हजार ४ सय व्यवसायी आबद्ध छन् । उनले व्यवसायीहरूमा उत्साहको कमी देखिनु दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुने बताए । उनले भने, ‘यदि यो क्षेत्रमा आबद्ध व्यवसायीहरूको अनुहारमा उत्साह आउँदैन भने, भविष्यमा यसले कसरी निरन्तर सेवा दिन सक्छ भन्ने ठूलो प्रश्न हो । अन्य क्षेत्रझैं यो व्यवसाय पनि पलायन हुने अवस्था सिर्जना भयो भने त्यसको असर गम्भीर हुन सक्छ ।’
महासंघको महाधिवेशन शनिबार (आज)देखि सुरु भएको हो । महाधिवेशनले भोलि(आइतबार) नयाँ नेतृत्व चयन गर्नेछ । राष्ट्रिय सभा गृह काठमाडौंमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भक्तपुरको कौशलटारस्थित ह्वाइट पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट १५ सय प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । हासंघको देशका ७ प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ । महासंघमा आबद्ध २७ हजार ४०० साधारण सदस्य छन् ।महाधिवेशनबाट कुल ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ पदाधिकारीकारी तर्फ विधान अनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १ , ७ उपाध्यक्ष (खुला), महासचिव १, कोषाध्यक्ष १, सचीव ४ मध्ये ३ खुला र १ महिला र सहकोषाध्यक्ष १ निर्वाचित हुने ब्यवस्था छ ।
हालसम्म अध्यक्षमा रमेशकुमार घिमिरे र महासचिवमा छतेन्द्र आचार्यले बलियो दावीदारी प्रश्तुत गरेका छन् । घिमिरे र आचार्यको नाम सर्वसम्मत गराउने प्रयास भइरहेको छ । साथै अन्य पदहरु पनि सर्वसम्मतबाटै चयन गर्ने प्रयास भइरहेको छ ।


