भरतपुरमा यहि जेठ ३ गते स्काउट शिक्षकरूको बृहत भेला हुँदै

एटुजेड समाचार

चितवन  – नेपाल स्काउटको अभियानलाई थप प्रभावकारी, अनुशासित र नेतृत्वमुखी बनाउने उद्देश्यसहित चितवनमा “स्काउटर्स मिट चितवन २०८३” आयोजना हुने भएको छ।

चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा उक्त कार्यक्रम यहि जेठ ३ गते आइतबार भरतपुर महानगरपालिका,वडा नम्वर-७,तेह्रसाल चोकस्थित अंकुरम एकेडेमीमा सञ्चालन हुने भएको हो।

स्काउट आन्दोलनमार्फत युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, सामाजिक उत्तरदायित्व तथा सेवाभाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको सो कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन।

त्यस्तै, नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक एवं चिकित्सक प्रणव मान कर्मचार्य विशेष अतिथिका रूपमा रहने क्र्युका सचिव शिव प्रसाद बरालले बताएका छन।

सो कार्यक्रममा जिल्लाभरका स्काउट मास्टर्स, कब मास्टर्स, ब्राउनी आउल्स, रोभर तथा रेंजर लिडर्स, सहायक राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय प्रशिक्षक लगायत स्काउट अभियानमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने बरालले जानकारी गराएका छन।

Forbes

उनका अनुसार,उक्त कार्यक्रमले स्काउटहरूबीच अनुभव आदान–प्रदान, आपसी सम्बन्ध विस्तार, नेतृत्व विकास तथा समाजसेवामूलक गतिविधिप्रति साझा प्रतिबद्धता निर्माण गर्ने विश्वास गरिएको छ।

पछिल्लो समय युवापुस्तामा बढ्दो सामाजिक चुनौती, निराशा तथा अनुशासनहीनताको अवस्थाबीच स्काउट आन्दोलनले सकारात्मक ऊर्जा र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा आयोजकको रहेको छ। त्यसैले “स्काउटर्स मिट चितवन २०८३” लाई केवल औपचारिक भेटघाट नभई स्काउट आन्दोलनलाई थप गतिशील र प्रभावकारी बनाउने अभियानका रूपमा लिइएको छ।

यसअघि तय गरिएको मितिमा प्रदेशस्तरीय “गिलवेल एड्भान्स स्काउट्स रियुनियन” कार्यक्रमसमेत परेकाले सहभागीहरूको सहजता र व्यापक उपस्थितिलाई ध्यानमा राख्दै कार्यक्रमको मिति परिवर्तन गरिएको कार्यक्रम संयोजक एव स्काउटर तथा रोभर लिडर आकाश न्यौपानेले जानकारी गराएका छन ।

चितवन स्मार्ट स्काउट क्रूले जिल्लामा कार्यरत सम्पूर्ण स्काउटरहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गर्दै समयमै दर्ता गर्न अनुरोध गरेको छ। कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने तथा सहभागीहरूका लागि खाजा तथा जलपानको व्यवस्था आयोजकले नै गर्ने जनाएको छ।

चितवनमा आयोजना हुन लागेको “स्काउटर्स मिट चितवन-२०८३” लाई स्काउट अभियानको सुदृढीकरण, युवा नेतृत्व विकास तथा सामाजिक सेवाको संस्कार विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु