काठमाडौँ – प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले वर्षायाम सुरु हुनै लाग्दा बाढीपहिरो र डुबान रोकथामका लागि पूर्वतयारी गर्न तथा स्वास्थ्य, शिक्षा र दलित पीडितका मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा बोल्दै सांसद राजेशकुमार चौधरीले रौतहट जिल्ला चारैतिर नदीनालाले घेरिएका कारण हरेक वर्ष सदरमुकाम डुबानमा पर्ने र करोडौँको क्षति हुने गरेको उल्लेख गर्दै समयमै रोकथामका लागि पहल गर्न माग गरे।
यस्तै, सांसद रामविनोद यादवले धनुषा क्षेत्र नम्बर २ मा कमला नदीको कटान र डुबानको समस्याका साथै शिक्षा र स्वास्थ्यको अभावप्रति सरकारलाई सचेत गराएका छन्। सांसद रुविना आचार्यले आगामी बजेट आवश्यकताका आधारमा विनियोजन गर्नुपर्ने र वर्षायाममा हुने प्राकृतिक प्रकोपबाट बच्न पूर्वतयारीमा जोड दिइन्।
दलित र सीमान्तकृत समुदायमाथि भएका हिंसा र असुरक्षाको विषय पनि संसद्मा प्रमुखताका साथ उठेको छ। सांसद राधिका रम्तेलले सुर्खेतकी १६ वर्षीया एनिसा विकको बलात्कारपछि हत्या र सिन्धुलीका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा भएको मृत्युप्रति आक्रोश व्यक्त गर्दै राज्यले कमजोर नागरिकलाई सुरक्षा दिन नसकेको बताइन्।
सांसद रिमा विश्वकर्माले श्रीकृष्ण विश्वकर्माको मृत्यु भएको १८ दिन बितिसक्दा पनि पीडितले न्याय नपाएको उल्लेख गर्दै हिरासतभित्र हुने अधिकांश मृत्युलाई ‘आत्महत्या’ भनेर उम्कन नमिल्ने धारणा राखिन्।
बिना तयारी सुकुमबासी बस्ती हटाउने सरकारको कदमप्रति पनि सांसदहरूले प्रश्न उठाएका छन्। सांसद रिगला यादव र रेखाकुमारी यादवले सुकुमबासीलाई उचित बासको ग्यारेन्टी र व्यवस्थापन नगरी बस्ती नउठाउन माग गरे। यस्तै, सांसद बिना गुरुङले पोखराको फेवाताल संरक्षण गर्दा लालपुर्जा भएकालाई मुआब्जा दिन र वर्षौँदेखि माछा व्यवसायमा संलग्न जलारी समुदायको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरिन्।
अन्य विषयहरूमा सांसद रुपेस रञ्जितले भक्तपुरमा खोपः विश्वविद्यालय र वीर अस्पताल निर्माणको काम अघि बढाउन तथा मापदण्डविपरीतका इँटाभट्टाहरू बन्द गर्न माग गरे। सांसद विदुषी राणाले उद्योग र उत्पादनलाई प्राथमिकतामा राख्नका लागि सडक मार्ग र ढुवानीको उचित व्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएकी छन्।


