चितवनसहित बागमती प्रदेशका २१ विद्यालयको एसईई नतिजा शून्य

एटुजेड समाचार

हेटौंडा — राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा बागमती प्रदेशका ६ जिल्लाका १ संस्थागतसहित २१ वटा विद्यालयको नतिजा शून्य आएको छ ।

२० सामुदायिक र १ संस्थागत गरी २१ विद्यालयबाट एक जना परीक्षार्थी पनि उत्तीर्ण हुन सकेका छैनन्। बागमती प्रदेश शिक्षा निर्देशनालयका महानिर्देशक गोपालप्रसाद कँडेलका अनुसार एसईई नतिजामा सबैभन्दा धेरै सिन्धुपाल्चोकका ७ वटा विद्यालय निल आएका छन् । उक्त जिल्लाबाट संस्थागत र सामुदायिक गरेर १५३ वटा विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

काभ्रेका ४ वटा विद्यालयबाट एसईईमा सहभागी भएकामध्ये एक जना पनि उत्तीर्ण भएका छैनन् । उक्त जिल्लाबाट सामुदायिक र संस्थागत गरेर २९१ विद्यालय एईईमा सहभागी भएका थिए । मकवानपुरका दुई पालिकाका ४ विद्यालय एसईईमा निल आएका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाका ३ विद्यालयका विद्यार्थी एक जना उत्तीर्ण भएका छैनन् । राक्सिराङ गाउँपालिका-४ स्थित कालिका मावि, राक्सिराङ–६ स्थित राष्ट्रिय मावि र राक्सिराङ–८ स्थित मावि देवीटारको नतिजा शून्य आएको हो । यसैगरी भीमफेदी गाउँपालिका-८ पन्चकन्या माविको नतिजा शुन्य छ  । मकवानपुरका संस्थागत र सामुदायिक गरेर १४२ माध्यमिक विद्यालयका ५ हजार ५ सय २७ जना विद्यार्थीले एसईई दिएका थिए।

यसैगरी चितवनका एक संस्थागत र ३ सामुदायिक गरी ४ विद्यालयका एक जनाले पनि एसईई उत्तीर्ण गर्न सकेनन्। बागमती प्रदेशमा संस्थागत विद्यालय निल भएको चितवनमामात्र हो । चितवनमा संस्थागत र सामुदायिक गरेर २६७ वटा विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए  ।

धादिङमा सामुदायिक र संस्थागत गरेर १६१ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये एक माविका एक जना पनि उत्तीर्ण हुन सकेनन् । त्यसैगरी ललितपुरको एउटा माविको नतिजा शून्य आएको छ । उक्त जिल्लाबाट संस्थागत र सामुदायिक गरी २८३ माविका विद्यार्थीले परीक्षा दिएका थिए ।

काठमाडौं, भक्तपुर, नुवाकोट, रसुवा, सिन्धुली, दोलखा र रामेछाप गरी सात जिल्लाका एउटै विद्यालयको नतिजा शून्य आएको छैन्। शिक्षा निर्देशनालयका अनुसार बागमती प्रदेशमा सामुदायिक र संस्थागत गरेर २ हजार ८ सय ८३ विद्यालयका विद्यार्थी एसईईमा सामेल भएका थिए ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु