काठमाडौँ — चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा आइतबार पुछारको लखनउ सुपर जायंट्सलाई पाँच विकेटले पराजित गरेको छ । यो जितका नायक रहे, उर्भिल पटेल । उनले १३ बलमै आफ्नो अर्धशतक पूरा गरेर कीर्तिमानको बराबरी गरे ।
यो प्रतियोगता इतिहासकै सबैभन्दा तीव्र गतिको अर्धशतक हो । यसअघि यशस्वी जयसवालले सन् २०२४ मा राजस्थान रोयल्सका लागि कोलकाता नाइट राइडर्सविरुद्ध १३ बलमै अर्धशतक बनाएका थिए । चेन्नाइले जितका लागि २ सय ४ रनको लक्ष्य पछ्याउने क्रममा १९.२ ओभरमा पाँच विकेट गुमाएर २०८ रन बनाए ।
उर्भिल २३ बलमा ६५ रन बनाएर आउट भए । उनको इनिङ्समा दुई चौका र आठ छक्का सामेल थियो । चेन्नाइका लागि ओपनर तथा कप्तान ऋतुराज गायकवादले पनि २८ बलमा ४२ रन बनाए । चेन्नाइलाई अन्तिम ओभरमा १० रनको आवश्यकता थियो । खेलको अन्त्यमा जितसम्म पुग्न उसले केही संघर्ष भने गर्नु परेको थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले ८ विकेटमा २०३ रन बनाएको थियो । ओपनर जोस इंग्लिसले त्यसमा ८५ रन बनाए । उनले ३३ बलको सामना गरेर १० चोका र ६ छक्का प्रहार गरे । यस्तै साहबाज अहमदले २५ बलमा ४३ रनको योगदान गरे ।
चेन्नाइका बलरमध्ये जेमी ओभरटनले ३६ रनमा ३ विकेट लिए । यो जितपछि चेन्नाइको १२ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ । यससँगै उसले पनि प्ले अफका लागि आफ्नो चुनौती पेस गरेको छ । लखनउ भने छ अंकमा सीमित रहेर लिग तालिकाको पुछारमा रह्यो ।


