भरतपुरको वीरेन्द्र क्याम्पस मानविकी विभागको ३ बर्षीय कार्ययोजना सार्वजनिक

एटुजेड समाचार

चितवन – भरतपुर–१० स्थित वीरेन्द्र बहुमुखी क्याम्पसको मानविकी विभागले आगामी ३ वर्षका लागि विस्तृत कार्यक्रम कार्ययोजना प्रस्ताव सार्वजनिक गरेको छ। विभागीय कार्यक्रम संयोजक राजेन्द्र गिरीद्वारा प्रस्तुत “मानविकी विभाग (स्नातक तह, चार वर्षे) भावी कार्यक्रम कार्ययोजना प्रस्ताव” मा शैक्षिक गुणस्तर सुधार, अनुसन्धान विस्तार, विद्यार्थी विकास तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखिएको छ।

आर्थिक वर्ष २०८३/०८४ देखि २०८५/०८६ सम्म लागू हुने योजनामा विभागलाई आधुनिक, अनुसन्धानमुखी र प्रतिस्पर्धी बनाउने लक्ष्य लिइएको छ। प्रस्तावअनुसार नियमित कक्षा अनुगमन, शैक्षिक सेमिनार, अनुसन्धान गोष्ठी, विद्यार्थी लेखन तथा प्रस्तुति तालिम, अतिथि व्याख्यान कार्यक्रम र ICT सामग्री खरिदलाई पहिलो वर्षमै प्राथमिकता दिइएको छ।

त्यसैगरी दोस्रो वर्ष विभागीय जर्नल प्रकाशन, अनुसन्धान प्रस्ताव लेखन तालिम, पुस्तकालय विस्तार, डिजिटल स्रोत व्यवस्थापन तथा विद्यार्थी प्रतिभा सम्मान कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। तेस्रो वर्ष अन्तर्राष्ट्रिय गोष्ठी/सम्मेलन आयोजना, अनुसन्धान प्रकाशन सहयोग, ICT स्तरोन्नति र विभागीय स्मारिका प्रकाशन जस्ता कार्यक्रम अघि सारिएको छ।

कार्ययोजनामा विद्यार्थीका लागि शैक्षिक परामर्श, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा, वार्षिक प्रतिभा सम्मान, प्रत्येक वर्ष पुस्तक वितरण तथा शैक्षिक भ्रमण प्रतिवेदन अनिवार्य गर्ने योजना पनि समेटिएको छ। साथै, विभागीय अनुसन्धान समिति गठन, अनुसन्धान गोष्ठी आयोजना र शिक्षक–विद्यार्थीलाई अनुसन्धान प्रस्ताव लेखन तालिम दिइने उल्लेख छ।

विभागका अनुसार यस योजनाले शैक्षिक उत्कृष्टता, अनुसन्धान संस्कृति र संस्थागत छवि सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु