चितवन – भरतपुर विद्युत कार्यालयमा सेवाप्रवाहलाई सहज बनाउन ‘एकद्वार प्रणाली’ कार्यान्वयन गरिएको छ । ग्राहकहरुको सहजताका लागि कार्यालयले ‘एकद्वार प्रणाली’ कार्यान्वयन गरिएको हो ।
बिद्युत कार्यलयका प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार पहिले सेवाग्राहीले एउटा कामका लागि विभिन्न टेबल र फाँट धाउनुपर्ने बाध्यता थियो। कुन फाँटमा जाने, कुन नम्बरमा पुग्ने भन्ने अन्योलका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको अवस्था अहिले हटाइएको उनले बताए ।
प्रमुख चौधरीले अहिले एकद्वार प्रणाली लागू भएपछि एउटै स्थानबाट आवश्यक जानकारी र सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए। यसबाट सेवाग्राहीको समय बचत हुनुका साथै काम छिटो र व्यवस्थित रूपमा सम्पन्न हुन थालेको उनले उल्लेख गरे। उनले सेवामैत्री वातावरण निर्माण गर्दै नागरिकलाई सरल, छिटो र प्रभावकारी सेवा दिन विभिन्न सुधारका काम अघि बढाइएको बताए।


