काठमाडौंःतमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टीभीके प्रमुख विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गरेका छन्।
विजयको शपथग्रहण समारोह आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा हुने तय भएको छ। उनले १३ मेभित्र प्रदेशसभामा विश्वासको मत प्रस्तुत गर्नुपर्ने तमिलनाडु लोक भवनले पुष्टि गरेको छ।
सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी अर्थात् १२० जना विधायकको समर्थन प्राप्त भएपछि टीभीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न लोक भवन पुगेका थिए।
राज्यपालसँगको भेटमा विजयले भीसीके र आईयूएमएल पार्टीको समर्थनपत्र बुझाएका थिए। उनले बहुमतको आधारमा सरकार गठनको दाबी प्रस्तुत गरेका हुन्।
यसअघि शनिबार साँझ तमिलनाडुमा कांग्रेस, सीपीआई र सीपीएमपछि भीसीके तथा इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल)ले पनि टीभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए।
भीसीकेका नेता थोल थिरुमावलवनले टीभीके नेता अधव अर्जुनलाई पार्टीको समर्थनपत्र दिएका थिए भने आईयूएमएलले पनि टीभीकेलाई समर्थनपत्र बुझाएको थियो।
समर्थनपत्र प्राप्त भएपछि अधव अर्जुनले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस, वामपन्थी दल र भीसीकेलाई धन्यवाद दिएका थिए। उनले लोकतन्त्रको रक्षा गरिने र जनसमर्थनका आधारमा विजय तमिलनाडुको मुख्यमन्त्री बन्ने बताएका थिए।
शुक्रबार टीभीके प्रमुख विजयले राज्यपाल राजेन्द्र अर्लेकरसँग भेट गरी सरकार गठनको दाबी पेश गरेका थिए। राज्यपालसँग उनको यो तेस्रो भेट थियो।
राज्यपालसँगको भेटपछि विजयले व्यक्तिगत रूपमा भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) र भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का कार्यालयमा पुगेर पार्टी नेताहरूसँग छलफल गरेका थिए।
२३४ सदस्यीय तमिलनाडु प्रदेशसभा निर्वाचनमा टीभीकेले १०८ सिट जितेको छ। दुई स्थानबाट निर्वाचित विजयले एउटा सिट छाड्नुपर्ने भएकाले टीभीकेको संख्या १०७ मा झर्नेछ।
त्यसपछि प्रदेशसभाको संख्या २३३ मा सीमित हुने र बहुमतका लागि ११७ सदस्यको समर्थन आवश्यक पर्नेछ। कांग्रेसले पाँच सिट जितेको छ भने सीपीआई, सीपीएम, भीसीके र आईयूएमएलले दुई–दुई सिट जितेका छन्। यससँगै टीभीकेको समर्थनमा १२१ सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो।


