चितवन — बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रभावशाली युवा नेता अशोक लामाले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। लामो समयदेखि पार्टीको विभिन्न तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लामाले शुक्रबार विज्ञप्ति जारी गर्दै अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताएका हुन्।
लामा पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य, युवा संगठन नेपालको केन्द्रीय सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्जको जिम्मेवारीमा कार्यरत थिए। उनले जारी गरेको वक्तव्यमा पार्टी र संगठनप्रति सदैव इमानदारीपूर्वक प्रतिबद्ध भएर काम गरेको उल्लेख गर्दै सम्पूर्ण नेतृत्व, सहकर्मी तथा जनसमुदायप्रति आभार व्यक्त गरेका छन्।
उनले आफ्नो निर्णय व्यक्तिगत आवेग, असन्तुष्टि वा क्षणिक भावनाका कारण नभई “वैचारिक आत्ममूल्याङ्कन, राजनीतिक जिम्मेवारीप्रतिको गम्भीरता तथा आगामी कार्यदिशाप्रतिको स्पष्ट सोच” का आधारमा गरिएको बताएका छन्। साथै, उनले अब उपरान्त पार्टीको साधारण सदस्यका रूपमा समेत नरहने स्पष्ट पारेका छन्।
अशोक लामाको बहिर्गमनलाई बिप्लव नेतृत्वको नेकपाभित्र अर्थपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ। विशेषगरी युवा संगठनमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका लामाको पार्टी परित्यागपछि संगठनभित्र नयाँ राजनीतिक बहस र चर्चा सुरु भएको बताइएको छ।
वक्तव्यको अन्त्यमा लामाले पार्टी, संगठन तथा समग्र क्रान्तिकारी आन्दोलनले जनताको मुक्तिको लक्ष्य हासिल गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।


