ललितपुर – जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीज्यूको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईज्यूको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
३६ वर्ष ८ महिना लामो सरकारी सेवा पूरा गरी ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाशमा जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी भट्टराईज्यूको सम्मानमा आयोजना गरिएको उक्त कार्यक्रममा एसएसपी बोगटीले उहाँलाई मायाको चिनो प्रदान गर्दै दीर्घ सेवाको उच्च कदर गर्नुभयो।
कार्यक्रममा बोल्दै एसएसपी बोगटीले भट्टराईज्यूको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा सुदृढीकरण, प्रशासनिक समन्वय तथा नागरिकमैत्री सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभयो। उहाँले भट्टराईज्यूको अनुशासित, जिम्मेवार र सहज नेतृत्व शैलीले सुरक्षा निकाय र प्रशासनबीचको सहकार्य अझ मजबुत बनाएको बताउनुभयो।
एसएसपी बोगटीले भट्टराईज्यूको सरलता, मिलनसार व्यवहार र कार्यकुशलताले सम्पूर्ण टिमलाई प्रेरणा दिएको उल्लेख गर्दै उहाँको आगामी जीवन सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरूले पनि भट्टराईज्यूको योगदानको प्रशंसा गर्दै उहाँसँगको कार्यअनुभवलाई स्मरण गरेका थिए।
विदाई मन्तव्यका क्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईज्यूले आफ्नो सेवाकालमा साथ, सहयोग र समन्वय गर्ने सबै सुरक्षा निकाय तथा प्रशासनिक परिवारप्रति आभार व्यक्त गर्दै राज्यसेवा आफ्नो जीवनको गौरवपूर्ण यात्रा रहेको बताउनुभयो।
उक्त विदाई तथा शुभकामना कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।


