चितवन – रोयल इन्फिल्ड चितवनले आफ्ना ग्राहकहरूका लागि “चितवन टु बन्दिपुर राइड” आयोजना गर्ने भएको छ। दुई दिने उक्त कार्यक्रम बैशाख २६ र २७ गते सञ्चालन हुनेछ।
कार्यक्रमअन्तर्गत बैशाख २६ गते बिहान ११ बजे सहभागी राइडर्सहरू चितवनको भरतपुरस्थित रोयल इन्फिल्डको आधिकारिक विक्रेता सन अटो मोबाइल्सको कार्यालयमा जम्मा हुनेछन्।
त्यहाँ रोड क्याप्टेनको मार्गनिर्देशनमा रुटसम्बन्धी जानकारी दिइनेछ भने समूह फोटोसेसनपछि राइडर्सहरू बन्दिपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
राइडमा सहभागीहरू बन्दिपुरम फेलोशिप कार्यक्रम सहित बन्दिपुरमा नाइटस्टे गर्नेछन्। दोस्रो दिन बिहान ब्रेकफास्टपछि राइडर्सबीच विभिन्न मनोरञ्जनात्मक खेलकुद गतिविधि सञ्चालन गरिनेछ तथा विजेतालाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ। साथै स्थानीय विद्यालयका विद्यार्थीहरूलाई कपी, कलम तथा खेलकुद सामग्री वितरण गरी टोली पुनः चितवन फर्किनेछ।
सन अटोमोबाइल्सका सेल्स म्यानेजर नवराज अधिकारीका अनुसार कार्यक्रममा ४० देखि ५० वटा बाइकमार्फत करिब ८० देखि १०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी हुन बैशाख २४ गतेभित्र अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्ने व्यवस्था गरिएको छ।
कम्पनीका प्रवन्ध निर्देशक गोविन्दमान श्रेष्ठले रोयल इन्फिल्ड प्रयोगकर्ताबीच आपसी सम्बन्ध सुदृढ बनाउनु तथा मनोरञ्जन प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।


