चितवनमा जारी अटो-शो २०२६ मा दुई दिनमै १३२ सवारी बुकिङ

चितवन — चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त आयोजनामा सञ्चालित ‘चितवन अटो-शो २०२६’ मा दुई दिनभित्रै १३२ थान सवारी साधन बुकिङ भएको छ। आयोजकका अनुसार हालसम्म १० हजारभन्दा बढी अवलोकनकर्ताले मेला  अवलोकन गरिसकेका छन्।

बुकिङ भएका सवारी साधनमध्ये ४३ थान मोटरसाइकल, ६४ थान कार र २५ थान भ्यान रहेका छन्। अटो-शोका संयोजक राजन पियाका अनुसार प्रारम्भिक दुई दिनको बुकिङ अपेक्षाभन्दा राम्रो रहेको छ। “१३२ थान सवारी बुकिङ हुनु भनेको वास्तविक खरिदकर्ताको उपस्थिति उल्लेख्य रहेको संकेत हो,” उनले भने, “यसले आयोजकलाई उत्साह र सन्तुष्टि दुवै दिएको छ।”उनका अनुसार ग्राहकहरूले विशेषगरी विद्युतीय (इभी) सवारी साधनप्रति बढी रुचि देखाएका छन्।

बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा बिहीबार अटो-शोको उद्घाटन गरिएको थियो। अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मीले नयाँ वर्षसँगै सुरु भएको यस मेलामा आगामी दिनहरूमा थप सवारी बिक्री हुने अपेक्षा व्यक्त गरे।

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा वैशाख १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने पाँचदिने अटो-शोमा करिब ३० कम्पनीका ७० भन्दा बढी स्टल राखिएका छन्। मेलामा कार, जिप, मोटरसाइकल, स्कुटरलगायत विभिन्न सवारी साधन प्रदर्शनमा राखिएका छन् भने जिप र माइक्रोबसका लागि छुट्टै स्टलको व्यवस्था गरिएको छ। प्रदर्शनी हल बाहिर पनि टेन्टमार्फत थप स्टलहरू सञ्चालनमा छन्।

अटो-शो अवधिभर ग्राहकहरूका लागि स्थलमै फाइनान्स तथा बीमा सेवा उपलब्ध गराइएको छ। साथै, गाडी खरिद गर्ने ग्राहकहरूलाई विभिन्न कम्पनीहरूले आकर्षक छुट तथा योजना प्रदान गरेका छन्। मेला अवधिभर सवारी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत तीन जनालाई विशेष उपहार प्रदान गरिने आयोजकले जनाएको छ।

Forbes

आयोजकका अनुसार पाँच दिनको अवधिमा करिब ५० हजारले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ। साथै, सवारी साधनसँगै बैंक तथा बीमा कम्पनीहरूको पनि सहभागिता रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु