चितवन – चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
स्याङ्जाको चापाकोट गाउँपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन राना मगरले आफ्नै ३२ वर्षीया श्रीमती सपना राना मगरमाथि फलामको रड प्रहार गरी कुटपिट गर्दा उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार बिहान करिब ८:३० बजे घरायसी विवादका क्रममा सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरी डेरा कोठाभित्रै कुटपिट गरेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले सुमनलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


