आईसीसी वुमन्स च्यालेन्ज ट्रफी : रुवान्डालाई हराउँदै नेपाल तेस्रो स्थानमा

एटुजेड समाचार

काठमाडौं – नेपालले आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा आयोजक रुवान्डालाई ३८ रनले हराएको छ।

नेपालको यो तेस्रो जित हो । नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यो सँगै फाइनलमा पुग्ने संभावना नजिक पुगेको छ । नेपालले रुवान्डालाई यो दोस्रो पटक हराएको हो ।

जितको लागि १ सय ४ रनको लक्ष्य पछ्याएको घरेलु टोली रुवान्डा १७ .४ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा समेटियो। नेपाली बलरहरूको कसिलो बलिङमा रुवान्डाका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्।

कप्तान मारी बिमेनीमानाले २७ बल खेलेर ३ चौका सहित १९ रन जोडिन्। उनी नै टोलीको लागि सर्वाधिक रन जोड्ने खेलाडी बनिन्। जियोभानिस उवासेले १२ रन जोडिन्। यी दुई बाहेक अन्यले दोहोरो रन अंकमा रन छुन सकेनन्।

बलिङमा मनिषा उपाध्यायले सानदार प्रदर्शन गरिन् । उनले ४ ओभरमा १ मेडन सहित मात्र १० रन दिएर ३ विकेट लिइन् । उनी प्लेयर अफ दी म्याच बनिन् । यस्तै कविता कुँवर, रचना चौधरी र रीया शर्माले समान २ विकेट झारे ।

Forbes

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन बनायो। नेपालले निराशाजनक सुरूवात गर्यो। पहिलो क्रमका ४ खेलाडीले दोहोरो रन छुन सकेनन् । ओपनरद्वय सम्झना खड्का ६ रनमा, विन्दु रावल २ रनमा तथा रूबि पोद्दार ६ रनमा र पुजा महतो ५ रनमा आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा २३ रन मात्र बनाएको थियो ।

यसपछि कप्तान इन्दु बर्मा र कविता कुँवरले पाँचौ विकेटका लागि ४६ रनको साझेदारी गर्दै इनिङ्स उकासे। कविता २४ रन जोडेर आउट हुँदा रुविना क्षेत्रीले ११ रम बनाइन्। इन्दु अविजित ३३ रनमा रहिन्। उनले ४५ बल खेल्दै ४ चौका प्रहार गरिन् ।

बलिङमा हेरिनेट इसिमवीले ३ र मारी बिमेनीमानाले २ विकेट झारे ।

छैटौं खेलमा नेपालको यो तेस्रो जित हो। नेपाल ६ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यसअघि नेपाल अमेरिकासँग दुवै खेलमा पराजित हुँदा भानुआतुसँग पनि हारेको थियो। नेपालले रुवान्डालाई दुई पटक र इटलीलाई हराएको छ।

रुवान्डाको भने सातौं खेलमा तेस्रो हार हो। टोली ८ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। अब नेपालले भानुआतुसँग बिहीबार खेल्नेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु