‘लालीबजार’ रिलिज अघि नै विवादमा, उच्च अदालतमा रिट दायर

एटुजेड समाचार

काठमाण्डौ – कुनै समय बादी समुदायमा प्रचलित नथिया कुप्रथा (कुमारित्व किनबेच)मा आधारित फिल्म ‘लालीबजार’ विरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको छ । बादी समुदायको तर्फबाट रोशनी नेपालीले फिल्मको प्रदर्शन रोक्न माग गर्दै सोमबार अदालतमा मुद्धा दायर गरेकी हुन् । अदालतले यो मुद्धाको पेशी मंगलबारलाई तोकेको छ ।

अदालतमा रिट दायर गर्नुअघि रोशनीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको नाममा नै समस्या रहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामी बादी समुदाय लामो समयदेखि पहिचान र अधिकारका लागि लडिरहेका छौं । यो अवस्थामा हाम्रै पीडा र घाउलाई निचोरेर फिल्म बनाइएको छ । फिल्ममा बादी समुदायलाई जसरी देखाइएको छ, त्यो एकदमै गलत छ ।’

केही दिनअघि सेन्सरमा फिल्म समेत हेरिसकेकी उनले ‘लालीबजार’ले बादी समुदायको नैतिकताको हत्या गर्ने दाबी गरेकी छन् । उनी भन्छिन्, ‘हामी कसैको मिहिनेत खेर फ्याल्न चाहँदैनौं । कुनै काम गर्दा कति लगानी र मिहिनेत लाग्छ भन्ने कुरा हामीलाई पनि थाहा छ । तर, यो फिल्मले हाम्रो नैतिकताको हत्या गर्ने प्रयास गरेको छ, जुन परिपूर्ति हुन सक्दैन ।’

फिल्मविरुद्ध अदालतमा रिट दायर भएपछि निर्माता कम्पनी षट्कोण आर्ट्सले यतिबेला काठमाडौंमा पत्रकार सम्मेलन गरिरहेको छ । यस फिल्मका निर्माताहरूले ‘लालीबजार’मा बादी समुदायभन्दा पनि आमा-छोरीको कथा मुख्य रहेको दाबी गर्दै आएका छन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराईका अनुसार कथाको सेटिङमा मात्र बादी महिलाको कथा रहेको छ ।

यही शुक्रबार (१८ वैशाख)बाट प्रदर्शन हुन लागेको यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, रमेश बादीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । उनी स्वयंको कथा रहेको फिल्ममा बर्दियाका बादी समुदायको कथा पेस गरिएको छ ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु