भरतपुर – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । मिति २०८२ चैत्र १३ गते कास्कीको होटल डे–ब्रेक बेगनासताल पोखरामा संचालक समितीका अध्यक्ष शिल्पा प्रधानाङ्गले उद्घाटन गर्नु भएको उक्त साधारण सभाले विभिन्न प्रस्तावहरु पारीत गरेको छ ।
यस साधारण सभाले संस्थापक शेयर धनीहरुको तर्फबाट ३ जना नयाँ संचालकहरुको निर्वाचन पनि सम्पन्न गरेको छ । उक्त पदहरुमा जम्मा ३ जनाको मात्र उमेद्वारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसरी निर्वाचित हुने संचालकहरुमा गुहेश्वरी मर्चेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै शिल्पा प्रधानाङ्ग र शिवराज भण्डारी तथा संस्थापक शेयरधनी निरजा शर्मा (सापकोटा) रहनुुभएको छ ।
सभाले स्वतन्त्र संचालकका रुपमा यस अघि नियुक्त हुनुुभएका ललितपुुर निवासी किरण बिष्टको नियुक्तीलाई समर्थन गर्दै अनुमोदन गरेको छ भने यस अघिका अध्यक्ष श्रीमती अर्चना प्रधानलाई उहाँको योगदानको उच्च मुल्यांङ्कन गर्दै धन्यवाद व्यक्त गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव विष्णु प्रसाद ढकालले सभा समक्ष प्रस्तुत गर्नु भएको सबै प्रस्तावहरु सर्वसम्मत पारित भएका छन् । सभाका्े समापन सभाध्यक्ष शिल्पा प्रधानाङ्गले गर्नुभयो ।
वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


