योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

एटुजेड समाचार

भरतपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आँपटारीस्थित योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा सुविधासम्पन्न धर्मशाला निर्माण गरिने बताएका छन् । आफ्ना दुई मन्त्रीहरुसहित शनिबार कोटिहोम महायज्ञको दर्शन गर्न पुगेका मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् । शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले पनि महायज्ञको दर्शन गर्नुका साथै पूजाअर्चना गरेका थिए ।

‘देश विदेशबाट आउने भक्तजनहरु पनि बस्न मिल्ने खालको लिफ्टसहितको धर्मशाला निर्माण गर्नुपर्नेछ । कथा प्रवचन गर्नका लागि एउटा राम्रो भवनको पनि अभाव रहेछ । यतिराम्रो आध्यात्मिक क्षेत्र छ, यसको समग्र विकास गर्न आउँदो बजेटमा बागमती प्रदेश सरकारले विशेष व्यवस्था गर्नेछ’, भक्तजनका अगाडि मुख्यमन्त्री बानियाँले भने ।

उमेर, शक्ति र पद सँधै नरहने बताउँदै उनले धार्मिक पर्यटन प्रवद्र्धनको लागि प्रदेश सरकारले सक्दो काम गर्ने बताए । ‘देवघाट नजिकै छ, मर्ने बेलामा कात्रोमा खल्ती पनि हुँदैन । यो विचार गरेर तपाईहरुले ध्यान दिनुहोला । प्रदेश सरकारले पनि ध्यान दिनेछ’, उनले भने । सनातनी परम्परा र संस्कृतिको संरक्षण गर्न महायज्ञले ठूलो भूमिका खेलने उनले बताए ।
वागीश्वरीलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गर्ने उद्धेश्यले प्रदेश सरकारले यहाँको पूर्वाधार विकासमा दुई करोड रुपैयाँ खर्चिसकेको बताए ।

धार्मिक आस्थाकै कारण योगी नरहरिनाथको तपोभूमिमा आफुहरु आएको बताउँदै उनले भारतको प्रयागराज भन्दा देवघाटधाम धेरै पुण्यभूमि रहेको बताए । मुख्यमन्त्रीसँगै बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेल पनि पुगेका थिए । मन्त्री पौडेल योगी नरहरिनाथ आश्रमको सदस्य पनि हुन् ।

कोटिहोम महायज्ञमा शनिबारदेखि भजन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पाँच वटा समूह सहभागी भए । पाँचमध्ये तीन वटा समूह फाइनलको लागि छनौट भए । प्रतियोगितामा सहभागी हुनका लागि ३८ वटा समूहले नाम टिपाएको संयोजक अर्जुन सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको फाइनल यहि जेठ ३० गते हुनेछ । प्रतियोगितामा हरेक दिन पाँच–पाँच वटा टिमको भजन प्रस्तुती हुनेछ । त्यसमध्येबाट उत्कृष्ट तीन–तीन वटा टिमलाई फाइनल राउण्डमा लगिने उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले २० हजार, दोस्रो हुने टिमले १५ हजार, तेस्रो हुने टिमले १० हजार र सान्त्वना हुने दुई टिमले सात–सात हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी सबै टिमले प्रमाणपत्र र खैजडी उपहार पाउनेछन् ।

राष्ट्र शान्ति र विश्व शान्तिकोे कामना गर्दै गत वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गते सम्पन्न हुनेछ । नौ वर्ष मुनिका एक हजार आठ बालिकाको सामुहिक पुजन आगामी असार ६ गते र पाँचसरे सवा करोड दीप प्रज्वलन असार ८ गते गर्ने तय भएको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनीधि भारद्धाजले जानकारी दिए । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथावाचन गरिरहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु