भरतपुर – रास्वपा नेतृत्वको सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा चितवनले अपेक्षाअनुसार प्राथमिकता पाउन सकेको छैन। चितवनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कानुनमन्त्री सोविता गौतम निर्वाचित भएकाले जिल्लाका लागि विशेष कार्यक्रम र बजेट आउने अपेक्षा गरिएको थियो। तर सार्वजनिक बजेटमा चितवनका केही पुराना योजनालाई निरन्तरता दिइएको छ भने नयाँ योजनाहरू सीमित मात्रामा समावेश भएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि उपकरण खरिद गर्न ३२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। साथै चेपाङ समुदायका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ।
यसैगरी, भरतपुर विमानस्थलको स्तरोन्नति गरी रात्रिकालीन उडान सञ्चालनको व्यवस्था मिलाउने, नारायणगढ–हेटौंडा सडकखण्डको स्तरोन्नति तथा माझिमटार–शक्तिखोर सुरुङमार्गको अध्ययनका लागि बजेट विनियोजन गरिएको छ। यी अधिकांश योजना अघिल्ला बजेटहरूमा पनि समावेश हुँदै आएका कार्यक्रम हुन्।
यद्यपि, अघिल्लो सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नाम भने यसपटकको बजेट वक्तव्यमा उल्लेख गरिएको छैन। सरकारले देशका विभिन्न सहरमा क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरे पनि चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे कुनै स्पष्ट योजना सार्वजनिक गरेको छैन।
नयाँ बजेटमा चितवनका लागि ठूला पूर्वाधार, पर्यटन तथा विकास परियोजनाहरू समावेश हुने अपेक्षा गरिए पनि जिल्लाले अपेक्षाकृत कम प्राथमिकता पाएको भन्दै विभिन्न क्षेत्रबाट प्रतिक्रिया आउन थालेको छ।


